प्रेम गर्दा ‘तिमी’ भन्नेले बिहे गर्ना साथ ‘तँ’ भन्दा…


११:३६ बजे

कैलाली । कैलालीकी रूपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्छिन् । १३ वर्षको कलिलै उमेरमा विवाह गरेकी उनका श्रीमान् जागिरे छन् । उनले भनिन्, ‘तीन सन्तानकी आमा हुँदासम्म श्रीमानबाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ। पतिले सधैँ घरको नोकर जस्तै सोंचिरहनु भयो । राम्रो बोली वचनसम्म गर्नु भएन । सन्तान नहुर्कुञ्जेल श्रीमानका सबै व्यवहार सहेर बसें ।’

सन्तान हुर्किसकेपछि उनलाई श्रीमानले गर्ने दुर्व्यववहारविरुद्ध आवाज उठाउन मन लाग्यो । साथै वैवाहिक जीवनको २३ वर्षपछि उनी अलग हुने निणर्यमा पुगिन् । ‘मलाई श्रीमानले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिनुभएन । खानलाउन दिनुभयो, धन सम्पत्ति पनि दिनुभयो तर इज्जत दिनुभएन’, उनले भनिन्, ‘दम्पती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैं मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर श्रीमानले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने । उहाँ अरू केही गलत हुनुहुन्नथ्यो, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन । मनमुटाव बिस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निणर्य गर्‍यौं।’

सम्बन्धविच्छेदपछि हाल रूपा सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी अचेल सामाजिक जीवनमा सक्रिय छिन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् । कैलालीकै रमा धामीलाई पनि श्रीमानको व्यवहार पटक्कै मन पर्दैन । उहनी श्रीमानले जीवनसाथीको जस्तो व्यवहार गरुन् भन्ने चाहन्छिन् । प्रेम विवाह गरेकी उनले शुरुआती दिनमा श्रीमानबाट साथी जस्तै व्यवहार पाइन् । बिहेपछि भने व्यवहार बदलियो ।

‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो’, उनी भन्छिन्, ‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमानको नाम लिएर बोल्ने सभ्यता नभएकी रहिछ भनी कुरा काटे ।’

परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो पर्‍यो । उनले बोली वचनमा सुधार गरिन् । परिवार र समाजले चाहे जस्तै शब्दले सम्बोधन गरिन् । तर उनका श्रीमानले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमानले ‘तँ’ भनी सम्बोधन गर्न थाले । ‘हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियत समेत बदलियो’, उनले भनिन् । दम्पती भनेका जीवन साथी हुन् । जीवन साथीको व्यवहार साथी जस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवन साथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् ।

‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसा गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’, शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पतीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’ बलियो र दिगो सम्बन्धका लागि श्रीमतीले श्रीमानलाई साथ दिन्छन्, यसैगरी श्रीमानले पनि साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम चलिरहँदा समाजमा महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन् ।

‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ’, उनी भन्छिन्, ‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको सङ्ख्यासमेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’ अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्धविच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन् ।

‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्धविच्छेदका भएका छन् । सम्बन्धविच्छेदले परिवार विखण्डन भएको छ’, उनले भने, ‘परिवार विखण्डन भए बालबालिकाको जीवन बर्बाद हुन्छ । उनीहरू अभिभावकको माया पाउनबाट वञ्चित हुन्छन् ।’ उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनी रूपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउँछन् । ‘महिलालाई अहिले कानुनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ’, उनी भन्छन्, ‘समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’ रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७