सँगै भीरबाट हामफाल्दा पत्नीको मृत्यु, पति गम्भीर घाइते
काठमाडौं । चितवनमा श्रीमान–श्रीमती सँगै भिरबाट हाम फालेका छन् । भीरमा हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । भीरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भीरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान लीलाबहादुरले पनि भीरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।