पूर्व प्रधानमन्त्री नेपाल अदालत हाजिर हुँदै


२०८२ असार ११ बुधबार १७:०३ बजे

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका क्रममा उनी अदालतमा आफै हाजिर हुन जाने भएका हुन् । पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले अदालतको दैनिक मुद्दा सूची (कज लिस्ट) आउनासाथ नेपाललाई त्यहाँ लगिने बताए । अदालतले म्याद तामेलीपत्र पठाइएको छैन ।

सार्वजनिक चर्चामा सुनेका आधारमा पनि कुनै मुद्दाका विषयमा सम्बन्धित व्यक्ति अदालतमा हाजिर हुन पाइने सुविधा उपयोग गर्दै नेपाल जान लागेका हुन् । अदालतले बिहान ११ बजेभित्र पहिलो पेसी सूची प्रकाशित गर्ने गरेको छ । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ । पतञ्जलिको नेपाल प्रमुख शालिग्राम सिंह, केही जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो।

यसै प्रकरणलाई लिएर अख्तियारले पूर्व प्रधानमन्त्री नेपालसँग बयान पनि लिएको थियो । बयान दिन नेपाल अख्तियारमै पुगेका थिए । २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान ९महेन्द्र ज्योति० क्षेत्रमा पतञ्जलीले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ। उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ । हदबन्दी छुटमा किनिएको जग्गामध्ये ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको भेटिएको छ । पतञ्जलीका लागि धुलिखेलमा ८८ रोपनी जग्गा किनेको फेला परेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७