पूर्व प्रधानमन्त्री नेपालको बयान राई, थापा र कोइरालाको इजलासमा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुगेका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आफै हाजिर हुन अदालत पुगेका हुन् । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।
अदालतले म्याद तामेलीपत्र पठाइएको छैन । सार्वजनिक चर्चामा सुनेका आधारमा पनि कुनै मुद्दाका विषयमा सम्बन्धित व्यक्ति अदालतमा हाजिर हुन पाइने सुविधा उपयोग गर्दै नेपाल गएका हुन् । अदालतले बिहान ११ बजेभित्र पहिलो पेसी सूची प्रकाशित गर्ने गरेको छ । पूर्व प्रधानमन्त्री नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा लिइने भएको छ ।
अदालतको भर्खरै प्रकाशित पेसी विवरण अनुसार, नेपालले उपस्थित हुने भनी हिजो दिएको निवेदन न्यायाधीशत्रय राई, थापा र कोइराला रहेको इजलासको पहिलो नम्बरमै परेको छ । उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ । पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ । पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने र पछि बिक्री गर्न दिने निर्णय नीतिगत नभई प्रशासनिक प्रकृतिको भएको निष्कर्षसहित अख्तियारले नेपाललाई पनि कसुरदार बनाएर आरोपपत्र दायर गरेको हो ।
पतञ्जलिको नेपाल प्रमुख शालिग्राम सिंह, केही जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो । यसै प्रकरणलाई लिएर अख्तियारले पूर्व प्रधानमन्त्री नेपालसँग बयान पनि लिएको थियो। बयान दिन नेपाल अख्तियारमै पुगेका थिए । २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।