मधेशको लागि ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : अनिल झा

काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले मधेसका लागि एमाले अध्यक्ष केपी ओलीभन्दा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबन्दा राम्रो हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा राजपा अध्यक्ष मण्डलका सदस्य झाले भने, ‘मैले पहिले पनि भनेको छु, आज पनि भन्छु, संघीयता, समावेशी-समानुपातिकको पक्षमा काम गरेको लिडर प्रचण्ड हो । उहाँ नै प्रधानमन्त्रीबन्दा राम्रो ।’
उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि विश्वास दिलाए । 'प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ', उनले भने । खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो ।
त्यस्तै उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माग गरे । उनले भने,'हामीले त सर्वदलीय बैठकमा पनि भनिदिऔं कि तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं, प्रदेश प्रमुखको नियुक्ती, मिति तोक्ने विषयमा छलफल भएको थियो । हामीले त बडा प्रष्ट रुपमा भनिदिएका थियौं कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएन नि।'
सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो । उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको पनि जिकिर गरे । यद्धपी उनले समर्थन दिने अवस्था बन्न सक्नेतर्फ संकेत गरे ।
उनले भने,'राजपा नेपाल सरकारमा जाने जनादेश छ्रैन् । अहिलेको हाम्रो मत भनेको फोरमसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने र संविधान संशोधनको लागि र मधेश आन्दोलनका एजेण्डाहरुलाई पूरा गराउन संघर्ष गर्ने हो, जनताले यीनै दुई वटा काम गर्नको लागि हामीलाई जनादेश दिएका हुन्।'