अब मापसे जस्तै लापसे पनि जाँचिने


२०७६ बैशाख ३१ मंगलबार २०:२१ बजे

जनकपुरधाम, ३१ बैशाख । प्रहरीले मापसे जस्तै अर्को अभियान शुरु गरेको छ । लापसे अर्थात् लागुपदार्थ सेवन जाँच । मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पाल बताए । पालका अनुसार बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे–नगरेको जाँच गरिएको छ ।

बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको उनले बताए । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए । उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ ।

नार्काेन नामक संस्थाले ड्रग यूरिन टेस्ट किट प्रदेश २ प्रहरी कार्यालय बारा पथलैयालाई उपलब्ध गराएको थियो । यो किटको प्रयोग गरी लागुऔषध प्रयोग गरे–नगरेकोबारे जाँच गरिएको छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ ।

ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे–नगरेको थाहा हुने उनको भनाई छ । ‘यदि कसैले लागुऔषध प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ,’ पालले भने, ‘कुन लागुऔषधको प्रयोग गरेको हो त्यो पनि देखाउँछ ।’

दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियानको प्रारम्भ गरिएको पालले बताए । उनकाअनुसार लापसे जाँच गर्ने किट उपलब्ध गराउन माथिल्लो निकायमा आग्रह गरिएको छ र आउनासाथ प्रदेश–२ को आठ वटै जिल्लामा जाँच शुरु हुनेछ । उनका अनुसार नार्काेनले सय वटा मात्रै किट उपलब्ध गराएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७