अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार


२०७५ कार्तिक १२ सोमबार ०६:२० बजे

काठमाडौं, १२ कात्तिक । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेद्वारी दिएका छन् ।

उम्मेद्वारी दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् ।

उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ ।

सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारीले हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएको छन् ।

भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए । यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुनु ।

सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेट्समा निर्वाचित हुन्छन् । डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्विङ डिस्ट्रिक अर्थात् जुन कुनैमा पनि मत जान सक्ने डिस्ट्रिकका रुपमा लिइन्छ ।

आइतबार ‘अर्लि भोटिङ’ को मतदानस्थलमा दिनभरि मतदातासँग मत माग्न व्यस्त रहेएका भण्डारीले भने, ‘हामीहरुको अवस्था राम्रै रहेको छ, मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ ।’

प्रचार प्रसारका विषयमा उनले भने, ‘हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता रहेका छन्, सबैखाले प्रचार प्रसारमा पनि राम्रै गरेका छौँ ।’

न्यू हयाम्प्सायरबाट डेमोक्र्याटिक पार्टीका तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेद्वारी दिएकी गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ । उता ढकालको उम्मेदवारी कुनै दलगत नभई केवल स्थानीयस्तरको एकाइको पद हो ।

उनले उम्मेदवारी दिएको पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन् । यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिष्पर्धामा भण्डारी मात्र छन् ।

भण्डारी जिताउनका लागि स्वयंसेवी बनेका डा श्याम कार्कीले भने, ‘हयारीको जीतले नेपालीलाई अमेरिकाको राजनीतिमा समाहित गराउने ढोका खोल्ने छ ।’

यसैगरी भण्डारी उम्मेदवार बनेका क्षेत्रमा बसोबास गर्ने अर्जुन हमालले भने, ‘भण्डारी अहिले यो क्षेत्रमा एक उदीयमान नेताका रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ, त्यसैले उहाँलाई प्राइमेरी निर्वाचनमा चर्चित पत्रिका ‘बाल्टीमोर सन’ले पनि इण्डोर्स गरेको छ ।’

मेरिल्याण्डमा काम गर्ने तरुण पौडेलले पनि भण्डारीको पकड र आधार मजबुद भएको बताए । करीब २०० नेपालीको घर यही डिस्ट्रिकमा भएकाले पनि उनलाई यार्ड साइनमा र मतदानमा सहयोग पुग्ने बताइएको छ ।

नेपाली तथा भूटानी मूलका करीब ३०० को हाराहारीको मत रहेको आँकलन पौडेल गर्छन् । अमेरिकामा हुने सो निर्वाचनले नेपाली उम्मेद्वारको उपस्थिति अनुमोदन हुन्छ कि हुँदैन भन्ने भण्डारीको जीत हारले सुनिश्चित गर्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७