कांग्रेसको सभापति मै हुँ : देउवा
‘पार्टी र जनताले मलाई धेरै दिए, अब सभापति र प्रधानमन्त्री बन्दिनँ’
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतले आफूहरूलाई न्याय दिने दाबी गरेका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको जिकिर गरे । आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार दुईतिहाइ बहुमतबाट पनि सभापतिबाट नहटाइएको उनको भनाइ छ ।
गत वर्ष पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका थिए । उक्त महाधिवेशनमा देउवा सहभागी भएका थिएनन् ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले यसबारे धेरै बहस गर्न आवश्यक नभएको बताउँदै देउवाले नेपालको संविधान र पार्टी विधानअनुसार आफूहरूले आधिकारिकता पाउने विश्वास व्यक्त गरे । ‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ । अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने साथी सभापति बन्नुहुन्छ,’ उनले भने ।
पाँचपटक प्रधानमन्त्री भइसकेको र पार्टी तथा देशका जनताबाट पर्याप्त अवसर पाइसकेको उल्लेख गर्दै देउवाले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । ‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसकेका छन् । अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न पार्टी सभापति हुन्छु, न प्रधानमन्त्री,’ उनले भने ।
.gif)

.png)




