काठमाडौंलाई जलवायु उत्थानशील सहर बनाउन सातबुँदे घोषणा
काठमाडौं : काठमाडौं महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणका लागि सातबुँदे प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा २०८३’ जारी गरेको छ ।
आइतबार काठमाडौं जलवायु कार्य सप्ताह, २०८३ को समापन समारोहमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले घोषणा सार्वजनिक गरेकी हुन् । मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको जलवायु कार्य सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा लैजाने उद्देश्यले घोषणा जारी गरिएको डंगोलले बताइन् ।
घोषणामा जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत सङ्कट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिम न्यूनीकरण गर्न साझा प्रयास र सहकार्यमा जोड दिइएको छ ।
महानगरपालिकाले जलवायु परिवर्तनसम्बन्धी विषय विद्यालय तहको स्थानीय पाठ्यक्रममा समावेश गर्ने तथा बालबालिका र युवालाई निर्णय प्रक्रिया र जलवायु समाधानका गतिविधिमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, रैथाने ज्ञान, स्थानीय सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्दै प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने घोषणा गरिएको छ ।

काठमाडौँ उपत्यकालाई जलवायु उत्थानशील सहर बनाउन वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, आकाशे पानी सङ्कलन तथा पुनर्भरण, नदी र खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, हिटी, पोखरी तथा राजकुलो संरक्षण र विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।
स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण र पानीको मितव्ययी उपयोगलाई नागरिकको दैनिक जीवनसँग जोड्ने प्रतिबद्धता पनि घोषणामा समेटिएको छ ।
जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय तथा अनौपचारिक बस्तीका बासिन्दालाई राखिएको छ । जलवायु सुरक्षा सुविधाको विषय नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणा गरिएको छ ।

कार्यवाहक प्रमुख डंगोलले जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन् ।
विकास योजना तथा आयोजनामा वातावरणीय संवेदनशीलता र जलवायु जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिने उनको भनाइ छ ।
घोषणालाई प्रतिबद्धतामा मात्रै सीमित नराखी कार्यान्वयन र परिणाममा केन्द्रित गर्ने महानगरपालिकाले जनाएको छ । त्यसका लागि कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम अघि बढाइनेछ ।
त्यस्तै, स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र तथा अनुसन्धान संस्थाबीच सहकार्यको संयन्त्र विकास गरी जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि महानगरपालिकाले जनाएको छ ।
.gif)

.png)




