चार लेनको नारायणघाट–बुटवल सडकमा हरियाली थपिँदै


२०८३ मङ्सिर ८ मंगलबार ०७:५२ बजे

काठमाडौं : नारायणघाट–बुटवल सडक विस्तारको मुख्य काम सम्पन्न भएपछि अहिले सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्ने र सडकलाई आकर्षक बनाउने काम भइरहेको छ ।

चार लेनमा विस्तार भएको ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्न सुरु गरिएको हो । गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानमा दुबो रोप्ने काम तीव्र पारिएको नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ ।

सडकको कालोपत्र गर्ने मुख्य काम लगभग सकिएको योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । अहिले सर्भिस लेन निर्माण, सडक किनारमा रेलिङ राख्ने, डिभाइडरमा रङरोगन गर्ने, दुबो रोप्ने र सडकलाई सुन्दर देखाउने बिरुवा रोप्ने काम भइरहेको छ ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । नारायणघाट–बुटवल सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो ।

सोही वर्ष चैतमा शिलान्यास गरेर निर्माण सुरु गरिएको सडक ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि चार पटक म्याद थप्दै करिब आठ वर्षमा गत साउनमा निर्माण पूरा भएको हो ।

खनालका अनुसार सडक टेकओभर भए पनि औपचारिक हस्तान्तरण भइसकेको छैन । निर्माण कम्पनीले पाँच वर्षसम्म सडकमा देखिने त्रुटि सच्याउनुपर्ने परीक्षण अवधि रहेकाले त्यसपछि मात्रै हस्तान्तरण गरिनेछ ।

अहिले पैदलयात्रीका लागि पेटी तयार पार्ने, सडक किनारमा रेलिङ राख्ने, ढलान गर्ने तथा निर्माणका क्रममा देखिएका त्रुटि सच्याउने काम जारी छ ।

गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर सडक विस्तार गरिएको हो । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत पाएको थियो ।

सडक विस्तारमा करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ, जसमध्ये ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।

सडकको ७० किलोमिटर भाग चार लेन, २९ किलोमिटर भाग छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनमा निर्माण गरिएको छ । ग्रामीण तथा वन क्षेत्रमा चार लेन, बजार क्षेत्रमा अतिरिक्त सर्भिस लेनसहित छ लेन र भौगोलिक कठिनाइ भएका दाउन्ने क्षेत्रमा तीन लेन बनाइएको हो ।

सडक विस्तारपछि सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सङ्केत तथा स्पिड गनबाट निगरानी गर्ने व्यवस्था गरिएको छ ।

खुला तथा सिधा सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार तथा क्रसिङ क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा र जङ्गली तथा दाउन्नेको पहाडी क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टा गति सीमा तोकिएको छ ।

दाउन्ने क्षेत्रमा कालोपत्र सडक पटकपटक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सडक सिमेन्ट कङ्क्रिट गरिएको छ । सडक विस्तारका क्रममा ४९ हजार ८३० वटा रुख काटिएका छन् ।

विस्तारित सडकमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल र पानी निकासका लागि ४६ वटा कल्भर्ट निर्माण गरिएको छ । साना पुल तथा कल्भर्ट चार लेनमा निर्माण गरिएका छन् भने ठूला पुल पुराना पुलको दक्षिणतर्फ दुई लेनमा बनाइएको छ ।

पुराना पुलको प्राविधिक अवस्था र आवश्यकताअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको आयोजनाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७