स्थानीय तह निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग


२०८३ मङ्सिर ४ शुक्रबार ०७:५६ बजे
फाइल फोटो

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएपछि निर्वाचन आयोगले नयाँ चुनावको तयारी अघि बढाएको छ ।

निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे सुझाव लिन आयोगले आजदेखि राजनीतिक दलहरूसँग छलफल सुरु गर्न लागेको हो ।

निर्वाचन आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको छ । स्थानीय तहको निर्वाचनका विषयमा परामर्श गर्न दलहरूलाई आमन्त्रण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

‘स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो,’ प्रवक्ता भट्टराईले भने ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । यी दलका प्रतिनिधिसँग स्थानीय तह तथा प्रदेश तहको निर्वाचनका सन्दर्भमा आवश्यक परामर्श गरिने आयोगले जनाएको छ ।

जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुने भएकाले आयोगले निर्वाचनको मिति घोषणा, व्यवस्थापन तथा आवश्यक तयारीबारे गृहकार्य थालेको हो ।

राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले आफ्नो कार्यालयमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम तय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७