धनुषा-१ को मत परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं : निर्वाचन आयोगले धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको सोमबार बसेको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम घोषणा गर्न निर्देशन दिएको हो।
आयोगले सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राख्दै अदालतबाट अन्यथा आदेश आएमा सोहीअनुसार हुने गरी हाल कायम रहेका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम घोषणा गर्न निर्देशन दिएको जनाएको छ ।
आयोगले भनेको छ, '...सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/११/२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेश बमोजिम धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल उमेदवार कायम रहेका उमेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न भनी धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतलाई निर्देशन दिने।'
कालोसूचीमा परेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त रिटमाथि सोमबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। निवेदक पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले अन्तरिम आदेशबारे छलफल गर्न आयोगलाई आउँदो शुक्रबार उपस्थित हुन आदेश दिएको छ।
.gif)

.png)

