भक्तपुरवासीको आत्मविश्वास र प्रतिष्ठामा चोट पुग्यो : महेश बस्नेत
काठमाडौं : नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीप्रति टिप्पणी गरेका छन् ।
सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटीले बडादशैं, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बस्नेतले भक्तपुरको विकास र बजेट प्राप्तिको अवस्थालाई लिएर असन्तुष्टि जनाए ।
भक्तपुरका जनप्रतिनिधिले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसकेको आरोप लगाउँदै उनले यसले स्थानीयवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा असर परेको टिप्पणी गरे ।
विगतमा करोडौँ रुपैयाँको बजेट माग्ने भक्तपुर अहिले १० लाख रुपैयाँको बजेटसमेत माग्न नसक्ने अवस्थामा पुगेको उनको दाबी थियो ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद राजीव खत्रीलाई लक्षित गर्दै बस्नेतले भने, ‘एक लाख रुपैयाँको बजेटसमेत ल्याउन नसक्ने नेतृत्व आज चुनाव जितेर गएको छ । यसले भक्तपुरवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा चोट पुर्याएको छ । हिजो करोडौँ रुपैयाँको बजेट माग्न सक्ने भक्तपुर आज १० लाख रुपैयाँको बजेट माग्नसमेत कठिन अवस्थामा पुगेको छ । यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ र जनतासामु तथ्यहरू स्पष्ट पारिनुपर्छ ।’
उनले नेपाली जनताको रोजाइको पार्टी एमाले भएको दाबी गर्दै विकास र समृद्धिको अभियान अघि बढाउने क्षमता पनि एमालेसँग मात्रै रहेको जिकिर गरे ।
भक्तपुरको विकास, समृद्धि र जनताको अपेक्षालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै बस्नेतले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको विकास तथा समृद्धिको अभियानबारे जनतामाझ पुनः बहस हुन थालेको बताए ।
.gif)

.png)




