सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य


२०८३ कार्तिक २४ मंगलबार १९:२१ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

जनकपुरका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । थरिन्दु रत्नायके २८ बलमा १ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे ।

आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन बनाए ।

जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यही नै सुदूरपश्चिमको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो । त्यसपछि भने टोलीले गतिलो साझेदारी गर्न सकेन । नियमित अन्तरालमा विकेट गुमाउँदा सुदूरपश्चिम ठूलो योगफल बनाउन असफल भयो ।

टसका क्रममा सुदूरपश्चिमका कप्तानले १७० रन बनाउने लक्ष्य सुनाएका थिए । तर, जनकपुरका बलरले सुरुदेखि नै दबाब कायम राखेपछि टोली १२० रनमै सीमित भयो ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिए । ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट लिए ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका खेलाडी टेक्टरले किफायती बलिङ गरे । उनले ४ ओभरमा जम्मा ९ रन खर्चिएर १ विकेट लिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७