जेन्सेन ह्वाङको विवाद : प्रेम सम्बन्धदेखि चिनियाँ जासुसीको आशङ्कासम्म
काठमाडौं : विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशङ्का गरिएकी एक महिलासँगको निकटताका कारण विवादमा तानिएका छन् ।
अमेरिकी अधिकारीहरूले ती महिलालाई चीनको गुप्तचर संस्था ‘मिनिस्ट्री अफ स्टेट सेक्युरिटी’ (एमएसएस) ले ह्वाङसँग निकटता बढाउन परिचालन गरेको दाबी गरेका छन् ।
न्यूयोर्क टाइम्सको पछिल्लो विवरणअनुसार, एलिस ह्वाङ नामकी ती महिला सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्व उच्च अधिकारी हुन् । अमेरिकी गुप्तचर निकायहरूले उनीमार्फत चीनले एनभिडियाका प्रमुखसँग सम्बन्ध विस्तार गरी कृत्रिम बुद्धिमत्ता (एआई) का अत्याधुनिक चिप्ससम्बन्धी सूचना सङ्कलन गर्न र चीनमा ती चिप्सको बिक्री सहज बनाउने निर्णयमा प्रभाव पार्न खोजेको निष्कर्ष निकालेको समाचारमा उल्लेख छ ।
जेन्सेन ह्वाङले आइतबार आफ्ना कर्मचारीलाई पठाएको सन्देशमा पत्नीप्रति बेइमान भएको स्वीकार गर्दै परिवारसँग माफी मागेका थिए । उनले आफ्ना कारण पत्नी र छोराछोरीलाई चोट पुगेको भन्दै त्यसको कुनै बहाना नभएको बताएका छन् ।
उनको स्वीकारोक्तिपछि एनभिडियाको सञ्चालक समितिले घटनाबारे स्वतन्त्र अनुसन्धान अघि बढाएको छ ।
यद्यपि एनभिडियाको सञ्चालक समितिले अहिलेसम्म कम्पनीको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित विवरण चुहिएको कुनै आधार नरहेको जनाएको छ ।
ह्वाङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनीले ह्वाङले आफ्नो प्रमुख कार्यकारीको जिम्मेवारी निरन्तर निर्वाह गर्ने जनाएको छ ।
सन् २०२४ र २०२५ का विभिन्न सार्वजनिक कार्यक्रममा ह्वाङ र एलिस सँगै देखिएको विवरण सार्वजनिक भएका छन् ।
सन् २०२६ को मे महिनामा एनभिडियाको चीन व्यापारबारे प्रतिवेदन सार्वजनिक गरेको शर्ट सेलर संस्था ‘कल्पर रिसर्च’ ले पनि दुवैबीच निकट सम्बन्ध रहेको दाबी गरेको थियो । उक्त संस्थाका अनुसार, मेगास्पिडका कर्मचारीहरूले ह्वाङलाई कम्पनीको कार्यालयमा पटकपटक देखेको बताएका थिए ।
अमेरिकी प्रतिनिधिसभाका तीन रिपब्लिकन समिति सभापतिहरूले ह्वाङसँग घटनाबारे स्पष्टीकरण मागेका छन् ।
विदेश मामिला समितिका सभापति ब्रायन मास्ट, चीनसम्बन्धी विशेष समितिका सभापति जोन मुलिनार र गुप्तचरसम्बन्धी समितिका सभापति रिक क्रफोर्डले नोभेम्बर १८ मा बन्द कोठाभित्र छलफलका लागि उपस्थित हुन आग्रह गरेका छन् । उनीहरूले नोभेम्बर ११ भित्र उक्त मिति स्वीकार गर्ने वा अर्को मिति प्रस्ताव गर्ने जवाफ दिन भनेका छन् ।
चीनले भने आफ्ना गुप्तचर निकायको संलग्नतासम्बन्धी आरोप अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस्तो आरोपलाई आधारहीन भन्दै चीनलाई बदनाम गर्ने प्रयासको संज्ञा दिएका छन् ।
अमेरिकी इतिहासका चर्चित ‘हनी ट्र्याप’ र जासुसी प्रकरण
विदेशी गुप्तचर निकायहरूले प्रभावशाली व्यक्ति तथा उच्च सरकारी अधिकारीसँग प्रेम वा यौन सम्बन्ध स्थापित गरेर सूचना सङ्कलन गर्ने रणनीति अपनाएका उदाहरण अमेरिकी इतिहासमा पनि छन् । यसलाई सामान्यतः ‘हनी ट्र्याप’ भनिन्छ ।
जेम्स जे. स्मिथ र कट्रिना लिउङ
अमेरिकी न्याय मन्त्रालयको महानिरीक्षक कार्यालयले सन् २००६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, एफबीआईका पूर्व काउन्टरइन्टेलिजेन्स एजेन्ट जेम्स जे. स्मिथ र एफबीआईकी सूचनादाता कट्रिना लिउङबीच करिब दुई दशकसम्म प्रेम सम्बन्ध रहेको थियो ।
लिउङले एफबीआईबाट प्राप्त गरेको पहुँच प्रयोग गरी अमेरिकी सरकारका वर्गीकृत सूचना चीनलाई उपलब्ध गराएको अनुसन्धानमा खुलेको थियो । स्मिथले पनि उनलाई संवेदनशील सूचनामा पहुँच दिनुका साथै सम्बन्धबारे अनुसन्धानकर्तालाई झूटो जानकारी दिएको स्वीकार गरेका थिए ।
स्मिथले सन् २००४ मा एफबीआईसमक्ष झूटो बयान दिएको अभियोगमा दोष स्वीकार गरेका थिए । लिउङले भने सन् २००५ मा एफबीआईलाई झूटो बयान दिएको र करसम्बन्धी विवरण गलत पेस गरेको अभियोग स्वीकार गरेकी थिइन् ।
मारिया बुटिना र पोल एरिक्सन
रुसी नागरिक मारिया बुटिनाले अमेरिकी राजनीतिक वृत्तमा पहुँच विस्तार गर्न राजनीतिक कार्यकर्ता पोल एरिक्सनसँगको सम्बन्धलाई उपयोग गरेको आरोप लागेको थियो ।
अमेरिकी अभियोजकहरूका अनुसार, उनले रुसी सरकारका एक अधिकारीको निर्देशनमा अमेरिकाभित्र प्रभाव विस्तार गर्ने काम गरेकी थिइन् ।
बुटिनाले सन् २०१८ मा विदेशी सरकारको एजेन्टका रूपमा षड्यन्त्र गरेको अभियोग स्वीकार गरेकी थिइन्। सन् २०१९ मा उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो ।
उनको गतिविधिमा अमेरिकी राजनीतिक वृत्त र नेसनल राइफल एसोसिएसन (एनआरए) सँग सम्बन्धित व्यक्तिहरूसम्म पहुँच बनाउने प्रयास पनि समावेश थियो ।
एरिक स्वालवेल र क्रिस्टिन फ्याङ
चिनियाँ नागरिक क्रिस्टिन फ्याङले सन् २०१० को दशकमा क्यालिफोर्नियाका राजनीतिक व्यक्तित्वहरूसँग सम्बन्ध विस्तार गरेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले सन् २०२० मा सार्वजनिक गरेको थियो ।
उनले तत्कालीन अमेरिकी कंग्रेस सदस्य एरिक स्वालवेलको चुनावी अभियानका लागि रकम सङ्कलन गर्न सहयोग गर्नुका साथै उनको कार्यालयमा एक जना इन्टर्न नियुक्त गराउन भूमिका खेलेको विवरण सार्वजनिक भएको थियो ।
अमेरिकी गुप्तचर अधिकारीहरूले फ्याङलाई चिनियाँ गुप्तचर गतिविधिसँग सम्बन्धित व्यक्ति मानेका थिए ।
एफबीआईले सन् २०१५ मा स्वालवेललाई फ्याङबारे जानकारी दिएपछि उनले उनीसँगको सम्पर्क तोडेका थिए । तर स्वालवेलमाथि कुनै गैरकानुनी गतिविधिमा संलग्न भएको आरोप लागेको थिएन ।
बेन्जामिन पियर्स बिसप
अमेरिकी रक्षा मन्त्रालयका ठेकेदार तथा पूर्व अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्नल बेन्जामिन पियर्स बिसपले सन् २०१४ मा आफ्नी चिनियाँ प्रेमिकालाई गोप्य सैन्य सूचना उपलब्ध गराएको अभियोग स्वीकार गरेका थिए।
अमेरिकी न्याय मन्त्रालयका अनुसार, उनले सन् २०१२ मा अमेरिकी राष्ट्रिय रक्षा प्रणालीसँग सम्बन्धित वर्गीकृत सूचना आफ्नी २७ वर्षीया चिनियाँ प्रेमिकालाई इमेलमार्फत पठाएका थिए ।
उनले अनुमति नभएका व्यक्तिलाई राष्ट्रिय सुरक्षासम्बन्धी सूचना उपलब्ध गराएको र गोप्य दस्तावेज गैरकानुनी रूपमा आफूसँग राखेको स्वीकार गरेका थिए । यस कसुरमा उनलाई सात वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो ।
यी घटनाहरूले व्यक्तिगत सम्बन्धलाई विदेशी गुप्तचर गतिविधिमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाउँछन् ।
तर जेन्सेन ह्वाङको पछिल्लो प्रकरणमा एलिस ह्वाङले सम्बन्धलाई जासुसीका लागि प्रयोग गरेको वा एनभिडियाका गोप्य सूचना चुहिएको विषय भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।
.gif)

.png)




