मिथिलामा आजदेखि दीपावलीको रौनक, साँझ मनाइँदै धनतेरस
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ । प्राचीन मिथिला क्षेत्रमा तिहारको पहिलो दिन आज साँझ दीपमालिका गरी धनतेरस मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष पाँच दिन मनाइने तिहार छ दिनसम्म लम्बिएको छ ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन साँझ घरघरमा दीप प्रज्वलन गरी धनतेरस मनाउने चलन छ ।
यस दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धातुका नयाँ भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा रहेको मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए ।
उनका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो । त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।
मिथिला क्षेत्रमा चाडपर्व, तिथिश्राद्ध तथा शुभकार्यको समय निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिँदै आएको छ । यही परम्पराअनुसार यस वर्ष तिहारका विभिन्न पर्व फरक–फरक दिनमा परेका छन् ।
त्रयोदशीकै दिन मनाइने काग पूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने परम्परा छ ।
मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै यस वर्षको दीपावली पर्व सम्पन्न हुनेछ ।
.gif)

.png)




