मेरो हातमा दाग छैन, नैतिकता कमजोर छैन :  गगन थापा


२०८३ कार्तिक १९ बिहीबार १७:०० बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई इनम सापकोटासँग जोडेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।

उनले आफ्नो नैतिकता र इमानदारीमाथि प्रश्न उठाउने प्रयासको प्रतिवाद गर्दै आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको बताएका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले आफ्नो चरित्रमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिएका हुन् ।

‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’

थापाले आफूले विगतदेखि नै सत्ताका गलत कामविरुद्ध आवाज उठाउँदै आएको स्मरण गराएका छन् । आफूभन्दा शक्तिशाली सरकारका निर्णयमाथि प्रश्न उठाएको र आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामको विरोध गर्न नछाडेको उनको भनाइ छ ।

‘म आज मात्र हो ? योभन्दा बलियो सत्ता भएको समयमा गलत गरेको बेला त्यससँग लडेर प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ,’ उनले भनेका छन् ।

आफ्नो स्वच्छता र इमानदारीमा सम्झौता गरेको भए सत्तासँग लड्ने आँट नै नआउने उनको तर्क छ ।

पछिल्लो समय आफूलाई विभिन्न विवादमा जोडेर चरित्रमाथि प्रश्न उठाइएको भन्दै थापाले यस्ता चुनौतीको पटक–पटक सामना गर्दै आएको बताएका छन् ।

‘मेरो वरिपरि विवाद ल्याइएको छ । व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ । प्रत्येक पटक लडेर आएको हुँ म, प्रत्येक पटक बाँचेर आएको हुँ । ढलेको छैन नि म,’ उनले भनेका छन् ।

आफ्ना शुभेच्छुकहरूको साथ र आशीर्वादसँगै आफ्नो नैतिक बल नै अहिलेको चुनौती सामना गर्ने आधार रहेको उनको भनाइ छ ।

‘सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठीक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुस्,’ थापाले भनेका छन् ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद र इनम सापकोटासँग जोडिएका विषयमा विभिन्न प्रश्न उठिरहेका बेला थापाको यो सन्देश सार्वजनिक भएको हो । उनले भने आफूलाई विवादमा जोडेर बदनाम गर्न खोजिएको दाबी गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७