सरकारको प्रवृत्तिले सीमा नाघ्यो : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् ।
सञ्चारमाध्यममा प्रहरी प्रवेश, सञ्चारकर्मी पक्राउ तथा पक्राउको तयारी भइरहेका घटनाप्रति आपत्ति जनाउँदै उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका थापाले सरकारको पछिल्लो कामकारबाही गम्भीर रूपमा हेर्नुपर्ने अवस्था आएको बताए । ‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो। प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने ।
सरकारले राज्यका निकायलाई आफ्नो आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्न थालेको उनको टिप्पणी छ ।
‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो,’ थापाले भने ।
उनले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको आरोपसमेत लगाए । ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो । प्रवृत्तिले हद नाघेको छ,’ उनले भने ।
.gif)

.png)




