इरानलाई तेल व्यापारमा सघाएको आरोपमा भारत र टर्कीका कम्पनीमाथि अमेरिकी प्रतिबन्ध
काठमाडौं : अमेरिकाले इरानलाई तेल व्यापारमा सघाएको आरोपमा भारत र टर्कीका विभिन्न कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
अमेरिकी वित्त मन्त्रालयले बुधबार प्रतिबन्धको घोषणा गर्दै इरानी शासनलाई सहयोग गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही जारी राख्ने चेतावनी दिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत यी प्रतिबन्ध लगाइएको हो । इरानलाई तेल बिक्रीबाट आम्दानी गर्न रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अमेरिकी वित्त मन्त्रालयले जनाएको छ ।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिबन्धबारे जानकारी दिँदै इरानी शासनलाई निरन्तर सहयोग गर्नेहरूविरुद्ध स्थल, समुद्र वा हवाई मार्ग जुनसुकै माध्यमबाट सहयोग गरे पनि कारबाही गरिने बताएका छन् ।
मन्त्रालयको निर्णयअनुसार भारतमा रहेका सुनील कुमार शर्मा र उनकी पत्नी जसप्रीत प्रीति शाहिदको सञ्जाललाई प्रतिबन्धको निशाना बनाइएको छ । उक्त सञ्जालले इरानको ‘स्याडो फ्लीट’ अर्थात् प्रतिबन्ध छल्दै तेल ओसारपसार गर्ने जहाजहरूको सञ्जाललाई सहयोग गरेको अमेरिकी आरोप छ ।
प्रतिबन्धमा पर्ने अन्य व्यक्तिमा चण्डीगढका अश्वनी कुमार धीमान र इश्विन्दर सिंह रहेका छन् ।
त्यस्तै, भारत, टर्की र सिंगापुरमा रहेका विभिन्न कम्पनी तथा संस्थामाथि पनि प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धित संस्थामा एलेक्सार्या मिडिया एन्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड, आर्यावर्त मेरिटाइम एन्ड एजुकेसनल ट्रस्ट, एलेक्सार्या फिनसर्भ प्राइभेट लिमिटेड, आर्यावर्त शिप म्यानेजमेन्ट प्राइभेट लिमिटेड, इस्वातिनी मेरिटाइम अफेयर्स एन्ड इन्टरनेसनल शिप रजिस्ट्री प्राइभेट लिमिटेड (सिंगापुर), फ्युगो ग्राउन्ड सर्भिसेज इंक (टर्की), ओस्यानिक टेक्नोलोजिज इन्डिया, पोलिनेसिया मेरिटाइम प्राइभेट लिमिटेड, प्रिसेप्ट ट्रेन्ड्स प्राइभेट लिमिटेड र विहारा बोटिङ प्राइभेट लिमिटेड (केरल) रहेका छन् ।
अमेरिकी वित्त मन्त्रालयका अनुसार उक्त सञ्जालले प्रतिबन्धित जहाजलाई नक्कली झण्डा र प्रमाणपत्र उपलब्ध गराउँदै आएको थियो । ती जहाजमार्फत इरानी पेट्रोलियम पदार्थ ओसारपसार हुने गरेको अमेरिकी दाबी छ ।
इरानी सेना तथा उसका सहयोगी संगठनका लागि काम गर्ने जहाजहरू पनि यस गतिविधिमा संलग्न रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेको दाबी गरिएको छ । हालसम्मका नतिजाअनुसार प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको उल्लेख गरिएको छ ।
.gif)

.png)




