प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी गर्न भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को प्रस्तावित भारत भ्रमणको तयारी तथा भ्रमणका एजेन्डा तय गर्ने उद्देश्यले उनी नेपाल आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपालको औपचारिक भ्रमणमा आएका हुन् । उनले बुधबार र बिहीबार नेपालमा उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई तथा भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्नुका साथै आपसी हित र साझा चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेषगरी प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमण, भ्रमणको तयारी र त्यसका क्रममा उठाइने विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले हुन लागेको भ्रमणमा आर्थिक सहकार्य, विकास साझेदारी र आपसी हितका विषयमा समेत विचार आदान–प्रदान हुनेछ ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । दुईदिने नेपाल भ्रमण सम्पन्न गरी मिश्री कात्तिक १९ गते भारत फर्किने कार्यक्रम छ ।
.gif)

.png)




