अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई थप तीन वर्ष


२०८३ कार्तिक १३ शुक्रबार १६:०५ बजे
फाइल फोटो

काठमाडौं : अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने नेपालको समयतालिका थप तीन वर्ष पछाडि सरेको छ । 

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालको स्तरोन्नति सन् २०२६ नोभेम्बरबाट सन् २०२९ नोभेम्बरसम्म सार्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले पत्रकार सम्मेलनमा राष्ट्रसङ्घसमक्ष नेपालले गरेको अनुरोधअनुसार समयतालिका थपिएको जानकारी दिए । 

यसअघि नेपाल सन् २०२६ नोभेम्बरमा अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तयारीमा थियो ।

समयतालिका तीन वर्ष थपिएसँगै नेपालले स्तरोन्नतिका लागि आवश्यक तयारी गर्ने थप अवसर पाएको मन्त्रालयको भनाइ छ । यसले स्तरोन्नति प्रक्रियालाई सहज र दिगो बनाउन सहयोग पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए ।

यसैबीच, आगामी नोभेम्बर ९ देखि २० तारिखसम्म टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा नेपालको उच्चस्तरीय सहभागिताको तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा नेपाल र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । 

जलवायु परिवर्तनका विषयमा दुई देशबीच सहकार्य गर्ने उद्देश्यले ‘जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौता’ अघि बढाइएको प्रवक्ता पौडेलले जानकारी दिए ।

त्यस्तै, कोप–३१ को अवसरमा नेपालले अन्य पर्वतीय मुलुकसँगको सहकार्यमा जलवायु परिवर्तन र पर्वतीय क्षेत्रका साझा चुनौतीबारे विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परिरहेका असरलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने नेपालको योजना छ ।

प्रवक्ता पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणका लागि पनि आवश्यक तयारी भइरहेको जानकारी दिए । दुवै पक्षलाई अनुकूल हुने गरी भ्रमणको तयारी अघि बढाइएको भए पनि भ्रमणको मिति भने तय भइनसकेको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७