प्रधानन्यायाधीशको नाम जोडिएको म्यासेज प्रकरण : सर्वोच्चमा आज फूलकोर्ट बैठक


२०८३ कार्तिक १३ शुक्रबार ०७:४९ बजे

काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम जोडिएको म्यासेज र न्यायाधीश हरि फुँयाल तथा इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा न्यायिक वृत्तको चासो बढेको छ । 

घटनाबारे बिहीबार न्यायाधीशहरूबीच सामूहिक छलफल नभए पनि शुक्रबार फूलकोर्ट बैठक बोलाइएको छ । इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनीसँग भएका ह्वाट्सएप कुराकानी सार्वजनिक भएका हुन् । 

विवरण सार्वजनिक भएपछि न्यायपालिकाले संस्थागत रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।

सर्वोच्च अदालतमा बिहीबार नियमित प्रक्रियाअनुसार गोलाप्रथाबाट इजलास गठन गरिएको थियो । तर, बिहानको फूलकोर्ट बैठकमा सार्वजनिक भएका विवरणबारे छलफल नभएको सर्वोच्चका एक उच्चपदस्थ कर्मचारीले बताएका छन् ।

न्यायाधीश हरि फुँयाल भने गोला तान्ने बैठकमा उपस्थित भएनन् । उनले बालकृष्ण ढकालसँग संयुक्त इजलासमा बसेर मुद्दा हेरेपछि पत्रकारहरूसँग भेट गरी इनम सापकोटासँग सम्पर्क हुनुको कारण र त्यसक्रममा भएको कुराकानीबारे आफ्नो धारणा राखेका थिए ।

उनले भेटमा कुनै बदनियत नरहेको र विचाराधीन मुद्दामा त्यसको प्रभाव नपरेको जिकिर गरेका छन् ।

प्रधानन्यायाधीश र न्यायाधीशका छुट्टाछुट्टै विज्ञप्ति

प्रधानन्यायाधीश डा. शर्माले बिहीबार आफ्नै हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै इनम सापकोटासँग आफ्नो सम्पर्क वा भेटघाट नभएको स्पष्ट पारेका छन् । 

त्यसपछि न्यायाधीश श्रीकान्त पौडेलले पनि आफूले मुद्दाको विषयवस्तु र बहसका आधारमा आदेश गरेको, कुनै व्यक्तिसँग भेटघाट नगरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

न्यायाधीश फुयालले पनि साँझ विज्ञप्ति जारी गर्दै आफूबाट न्यायिक निष्ठा र न्यायपालिकाको प्रतिष्ठामा आँच आउने काम नभएको दाबी गरेका छन् । उनले घटनाको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानन्यायाधीश शर्माले केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीसँग छलफल गरेपछि शुक्रबार बिहान फूलकोर्ट बैठक बस्ने सूचना जारी गरिएको छ । 

बैठकको कार्यसूचीमा ‘समसामयिक विषयमा छलफल’ उल्लेख छ । वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणमा रहेकाले उनको अनुपस्थितिमै बैठक हुन लागेको हो ।

नेपाल बार एशोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका घटनाको छानबिन गर्न माग गरेको छ ।

न्यायिक नेतृत्व र सम्बन्धित न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गरी गल्ती भेटिए कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बारको माग छ ।

सर्वोच्चका केही न्यायाधीशले आपसमा छलफल गरे पनि सामूहिक रूपमा विषय उठान नभएको स्रोतको भनाइ छ । 

संवेदनशील विवरण सार्वजनिक हुँदा पनि अदालतको संस्थागत प्रतिक्रिया नआएको भन्दै न्यायिक वृत्तमा शुक्रबारको बैठकबाट यसबारे स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७