आईजीपीको राजीनामा चर्चाप्रति प्रहरीको आपत्ति

भ्रामक प्रचार गर्नेलाई कारबाहीको चेतावनी


२०८३ कार्तिक १२ बिहीबार २१:०३ बजे

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ । पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा नागरिकमा भ्रम फैलिने र सङ्गठनको छविमा असर पर्ने प्रहरीको भनाइ छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरेका छन् ।

सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाउनेमाथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । ‘संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न आग्रह गरेको छ । नागरिकको सत्यतथ्य सूचना प्राप्त गर्ने अधिकारको सम्मान गर्दै पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि विज्ञप्तिमा जोड दिइएको छ ।

‘नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकतावद्ध हुदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरुमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्‍याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा नागरिकमा भ्रम र नकारात्मकता फैलिनुका साथै सुरक्षा जोखिम बढ्न सक्ने प्रहरीको भनाइ छ । यस्ता सामग्रीले नागरिकको सेवामा समर्पित संस्थाप्रतिको विश्वास, सङ्गठनको छवि र निष्ठामा समेत असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको कानुनी जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने उसको भनाइ छ ।

प्रहरीले आफ्ना कर्मचारीलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशन दिँदै आम नागरिकलाई आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७