आफ्नै देशका विद्वानलाई नचिन्ने नेपालीको प्रवृत्ति छ : केपी ओली


२०८३ कार्तिक ११ मंगलबार १६:५० बजे

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा आफ्नै देशका विद्वानलाई नचिन्ने र उनीहरूको ज्ञान तथा योगदानलाई पर्याप्त महत्त्व नदिने प्रवृत्ति रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै ओलीले नेपाली लेखक तथा विद्वानले तर्कपूर्ण र तथ्यमा आधारित लेखन गरे पनि उनीहरूको उदाहरण दिनुभन्दा विदेशी विद्वानलाई उद्धृत गर्ने चलन बढी रहेको टिप्पणी गरे।

उनले आफ्नै देशका विद्वानको ज्ञान, विचार र योगदानलाई चिन्न तथा सम्मान गर्नुपर्नेमा जोड दिए। 

स्वदेशी विद्वानका ग्रन्थ र विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले नेपाली समाजमा आफ्नै बौद्धिक सम्पत्तिको उचित मूल्याङ्कन हुन नसकेको उनको भनाइ थियो।

ओलीले भाषा, संस्कृति, कला र वाणीमा भिजेको व्यक्ति समाजका लागि असल र मानवतावादी हुन सक्ने धारणा पनि व्यक्त गरे।

ज्ञान धेरै हुँदैमा मानिस असल र मानवतावादी हुन्छ भन्ने नहुने उल्लेख गर्दै उनले ज्ञान भएको व्यक्ति पनि मानवीय गुणबाट टाढा भए समाज र छिमेकीका लागि पीडादायी बन्न सक्ने बताए।

उनको भनाइमा ज्ञानसँगै मानवीय संवेदना, संस्कार र सामाजिक जिम्मेवारी पनि आवश्यक हुन्छ। 

समाजमा असल व्यक्तित्व निर्माण गर्न भाषा, संस्कृति र कलाप्रतिको आत्मीयतासँगै मानवतावादी सोचको विकास हुनुपर्नेमा उनले जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७