मलेसिया रोजगारीबारे भ्रम नफैलाउन आग्रह
काठमाडौं : मलेसिया रोजगारीबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रमपूर्ण तथा तथ्यहीन सूचना फैलिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको र आपसी छलफलबाट समस्या यथाशीघ्र टुङ्ग्याउने प्रयास भइरहेको जनाएको छ।
श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नेपालको संविधान, प्रचलित कानुन, वैदेशिक रोजगारसम्बन्धी व्यवस्था तथा द्विपक्षीय श्रम समझदारी विपरीतका प्रणाली उपयुक्त नहुने मन्त्रालयको भनाइ छ।
नेपाली श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, निष्पक्ष र न्यायोचित बनाउँदै दुवै देशलाई मान्य हुने प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयका प्रवक्ता मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्यतथ्यबिनाका सूचनाले नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै वस्तुगत तथ्यका आधारमा मात्रै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको छ।
.gif)

.png)



