मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
ब्राजिल र मोरक्कोको रोमाञ्चक भिडन्त १-१ को बराबरीमा सकियो
काठमाडौँ : विश्वकप फुटबलअन्तर्गत समूह 'सी' को रोमाञ्चक खेलमा बलियो टोली ब्राजिल र मोरक्कोले अङ्क बाँडेका छन्। आइतबार राति भएको प्रतिष्ठाको लडाइँमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै खेल टुङ्ग्याएका हुन्।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए। खेलको २०औँ मिनेटमा मोरक्कोका इसामेल सैबारीले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। मोरक्कोको यो अग्रता धेरै समय टिक्न सकेन।
खेलको ३१औँ मिनेटमा (अग्रता लिएको ११ मिनेटमै) ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए। पहिलो हाफमा निकै आक्रामक देखिएका दुवै टोलीले दोस्रो हाफमा पनि गोलका केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमै सकियो।

२८ वर्षपछि विश्वकपमा भेट
सन् १९९८ को विश्वकपपछि ब्राजिल र मोरक्कोबीच विश्वकपको मञ्चमा भेट भएको यो दोस्रोपटक हो। २८ वर्षअघि फ्रान्समा भएको उक्त विश्वकपको खेलमा मोरक्को ब्राजिलसँग ३-० को फराकिलो अन्तरले पराजित भएको थियो। हिजोको खेलमा भने मोरक्कोले बलियो ब्राजिललाई कडा टक्कर दिँदै ऐतिहासिक अङ्क खोस्न सफल भएको छ।
.gif)

.png)

