अर्जेन्टिनाको विपक्षमा ल्याटिन अमेरिका : यामाल ‘ब्राजिलियन जनताको आशा’ भएको प्रतिक्रिया
एफपी : सामान्यतया फिफा विश्वकपको अन्तिम चरणमा पुग्ने आफ्नै क्षेत्रका टोलीलाई समर्थन गर्ने परम्परा ल्याटिन अमेरिकामा बलियो मानिन्छ। तर, यसपटक स्पेनविरुद्धको फाइनलअघि सामाजिक सञ्जालमा फैलिएका मिम्स, व्यंग्य र आलोचनामा एउटा फरक दृश्य देखिएको छ: धेरै ल्याटिन अमेरिकी समर्थकले अर्जेन्टिना फाइनलमा हारोस् भन्ने चाहेका छन्।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको एउटा सम्पादित तस्बिरमा स्पेनका युवा स्टार लामिन यामाललाई ब्राजिलको जर्सी लगाएको देखाइएको छ। त्यसमा व्यंग्यात्मक क्याप्सन छ, 'ब्राजिलियन जनताको आशा।'
यो भावना ब्राजिल र अर्जेन्टिनाबीचको ऐतिहासिक फुटबल प्रतिद्वन्द्वितामा मात्र सीमित छैन। मेक्सिको, कोलम्बिया, चिलीलगायत धेरै देशका समर्थकहरू आइतबारको फाइनलमा लियोनेल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना पराजित होस् भन्ने चाहना व्यक्त गरिरहेका छन्। सन् २०२२ को कतार विश्वकपअघि पनि यस्तै अवस्था देखिएको थियो।
कोलम्बियाली समाजशास्त्री जर्मन गोमेजका अनुसार अर्जेन्टिनाप्रतिको क्षेत्रीय ऐक्यबद्धता अहिले टुटेको छ। उनले सामाजिक सञ्जालले अर्जेन्टिनालाई फिफा र अध्यक्ष जियानी इन्फान्टिनोको ‘विशेष प्रिय टोली’ भएको धारणा बलियो बनाएको बताए।
ब्राजिलका ४२ वर्षीय फुटबल समर्थक फ्रान्सिस्को सान्तोस भन्छन्, 'अर्जेन्टिनाले रेफ्रीबाट धेरै सहयोग पाउँछ। यदि ब्राजिल छैटौँ पटक च्याम्पियन बन्न सक्दैन भने, अर्जेन्टिना चौथोपल्ट च्याम्पियन बनेको हेर्नुभन्दा स्पेन दोस्रोचोटि च्याम्पियन बनेको हेर्न चाहन्छु।'
धेरै आलोचकहरूले अर्जेन्टिनाले पेनाल्टी, पहेँलो वा रातो कार्डका निर्णयहरूमा अनुचित फाइदा पाउने गरेको आरोप लगाउँछन्, यद्यपि फिफा र विशेषज्ञहरू ती निर्णयहरू नियमानुसार भएको बताउँछन्।
मेक्सिको सिटीका प्रहरी अधिकारी एन्टोनियो लोपेजले मेसीलाई महान् खेलाडी माने पनि रेफ्रीको सहयोगले जित हासिल गरेको कुरा स्वीकार्न नसकिने बताए। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई कसलाई समर्थन गर्ने भनेर सोध्दा अधिकांशले एकै स्वरमा ‘स्पेन’ भनेर जवाफ दिएका थिए।
मेक्सिकोका खेल समाजशास्त्री जर्ज नेग्रोको टिप्पणी छ, 'यो विश्वकप खेलकुदभन्दा बढी राजनीतिक बनेको छ।' समाजशास्त्री गोमेज भन्छन् कि जहाँ म्याराडोनालाई फिफाविरुद्ध बोल्ने विद्रोही मानिन्थ्यो, अहिले मेसीलाई फिफाको ‘सुनौलो केटो’का रूपमा चित्रण गरिन्छ।
अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईप्रतिको असन्तुष्टिले पनि समर्थकहरूलाई विपक्षमा उभ्याएको छ। चिलीका रासिद सज बर्ग भन्छन्, 'यदि अर्जेन्टिनाले जिते मिलेईले त्यसलाई राजनीतिक रूपमा उपयोग गर्नेछन्, जुन मलाई मन पर्दैन।'
अर्जेन्टिनी समर्थक र खेलाडीहरूमाथि लाग्ने गरेका रंगभेदका आरोपहरू (जस्तै फ्रान्सेली खेलाडी लक्षित गीत वा दर्शकले गर्ने अपमानजनक व्यवहार) ले पनि टोलीको छविमा असर पारेको छ। हालै मात्र एक अर्जेन्टिनी समर्थकले एक अश्वेत स्ट्रिमरलाई गरेको रंगभेदी टिप्पणीको फिफाले निन्दा गरेको थियो।
‘हामी असह्य छौँ’
मेसीले आफ्नो टोलीप्रति हुने यस्तो मिश्रित प्रतिक्रियाबारे भने, 'चार वर्षअघि हामीले लक्ष्य पूरा गर्यौँ। हामी विश्वको उत्कृष्ट टोलीमध्ये एक हौँ भन्ने प्रमाणित गरेका छौँ। यसले कसैलाई चित्त दुख्छ भने त्यो उनीहरूको कुरा हो।'
अर्जेन्टिनामा लोकप्रिय ‘फर्नेट’ मदिराको एक ब्रान्डले ‘हामी असह्य छौँ’ भन्ने नारासहितको विज्ञापन सार्वजनिक गरेको छ, जसमा विभिन्न देशका समर्थकहरू अर्जेन्टिनाको फुटबलप्रतिको चर्को आवेगबारे गुनासो गरिरहेका देखिन्छन्। यद्यपि, सबै ल्याटिन अमेरिकी समर्थक अर्जेन्टिनाको विपक्षमा छैनन्। लिमाका विद्यार्थी भ्यालेन्टिनो तोक्तो भन्छन्, 'म अर्जेन्टिनालाई समर्थन गर्नेछु, किनभने यो पनि दक्षिण अमेरिकाकै एउटा देश हो।'
-अलजजिराबाट
.gif)

.png)

