परिवार भन्छ : सार्वजनिक अडियो जिबी राईकै
‘म आफैँ उपस्थित हुन्छु, बचत फिर्ता गर्ने वातावरण मिलाइदिनुस्’
काठमाडौं : विभिन्न सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा संलग्नताका कारण लामो समयदेखि फरार रहेका गितेन्द्रबाबु (जिबी) राईले आफू नेपाल फर्कन चाहेको बताएका छन्। राईको भनाइ समेटिएको अडियो सार्वजनिक भएको छ। पारिवारिक स्रोतले उक्त अडियो सत्य भएको पुष्टि गरेको छ।
सहकारीको बचत अपचलनसम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको दायरामा रहेका राई लामो समयदेखि फरार छन्। उनीमाथि सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ। उनको खोजी र सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धान जारी रहँदा नेपाल फर्कन चाहेको सन्देशसहितको अडियो सार्वजनिक भएको हो।
सार्वजनिक अडियोमा राईले नेपाल फर्कने चाहना व्यक्त गरेका छन्। पारिवारिक स्रोतले अडियो वास्तविक भएको बताए पनि त्यसमा व्यक्त गरिएको चाहना नेपाल फर्कने ठोस योजना वा सम्बन्धित निकायसमक्ष आत्मसमर्पण गर्ने निर्णयमा परिणत भएको छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन।
राईमाथि विभिन्न सहकारीको बचत अपचलनमा संलग्न रहेको आरोप छ। उनीसँग जोडिएका सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै बचतकर्ताले लामो समयदेखि न्याय र आफ्नो रकम फिर्ताको माग गर्दै आएका छन्।
राईले आफू आफैँ उपस्थित हुन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि अनुकूल वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।
अज्ञात स्थलबाट प्रेस वक्तव्य जारी गर्दै राईले बचतकर्ताको रकम फिर्ता गर्न केही जग्गाको व्यवस्थापनसमेत गरिरहेको बताएका हुन्। मुद्दा दायर भएयता विदेशमा रहेका उनले आफूलाई खोज्न सरकारी शक्ति र संयन्त्र परिचालन गर्नुभन्दा बचत फिर्ताको उपाय खोज्न सरकारलाई आग्रह गरेका छन्।
‘म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन। म आफैँ उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु,’ राईले वक्तव्यमा भनेका छन्।
उनले आफू पक्राउ पर्दैमा लाखौँ बचतकर्ताको अर्बौँ रुपैयाँ फिर्ता नआउने दाबी गरेका छन्। ‘सरकारलाई आग्रह छ, मेरो खोजलाई शक्ति–संयन्त्र प्रयोग गर्न पर्दैन। म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपायहरूको अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु,’ उनले भनेका छन्।
.gif)

.png)



