एनएफपीजेद्वारा उत्कृष्ट फोटो पत्रकारहरू सम्मानित


२०८३ असोज २५ आइतबार १२:२४ बजे

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को २९औँ वार्षिक साधारण सभा काठमाडौंको हात्तिसारमा सम्पन्न भएको छ। साधारण सभाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, पेसागत हकहित संरक्षण, तस्बिरको प्रतिलिपि अधिकार सुनिश्चितता तथा संस्थाको आर्थिक आत्मनिर्भरतामा जोड दिएको छ।

साधारण सभामा संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्रस्तुत गरेको प्रतिवेदनमा फोटो पत्रकारिताको व्यावसायिक विकास, पेसागत सुरक्षा र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। उनले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र तस्बिरको प्रतिलिपि अधिकार संरक्षणलाई प्रमुख चुनौतीका रूपमा औँल्याउँदै प्रभावकारी कानुनी व्यवस्थाको आवश्यकता रहेको बताए।

फोटो पत्रकारहरू तस्बिर खिच्ने कार्यमा मात्र सीमित नभई व्यावसायिक सीप, नेतृत्व क्षमता र संस्थागत विकासमा समेत केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। साथै, नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्दै संस्थालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्ने उनको भनाइ थियो।

साधारण सभामा महासचिव घनश्याम श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै प्रतिवेदन सभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्।

सो अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ अन्तर्गत साहसिक विधामा अनुप प्रधान, पर्यावरण तथा पर्यटन विधामा सागर गिरी, मनोरञ्जन विधामा बद्री थापा, सांस्कृतिक विधामा प्रकाश गोपाली र खेलकुद विधामा बसन्त शेर्पा सम्मानित भएका छन्।

त्यसैगरी, ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ हरिश सिंह नगाललाई नगद पाँच हजार रुपैयाँसहित प्रदान गरिएको छ। ‘एनएफपीजे प्रेसिडेन्ट अवार्ड–२०८३’ रामशरण महर्जन ‘अजय’ लाई प्रदान गरिएको छ भने उत्कृष्ट शाखाका रूपमा रामेछाप शाखा सम्मानित भएको छ। संस्थालाई सहयोग पुर्‍याएको कदर गर्दै चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरीलाई कदरपत्र प्रदान गरिएको थियो।

साधारण सभामा अध्यक्ष वन्तले आगामी २०८४ साल वैशाख १३ गते नेपालमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट आयोजना गर्ने घोषणा गरेका छन्। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको समिटमा विभिन्न देश तथा एसियाबाट करिब १०० जना फोटो पत्रकारलाई आमन्त्रण गरिने जनाइएको छ।

समिटमार्फत नेपालको हिमाली क्षेत्र, वनजङ्गल, वातावरण तथा सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिनेछ। कार्यक्रममा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी, पुरस्कार वितरण, विषयगत छलफल तथा तालिम र प्रशिक्षणसमेत सञ्चालन गरिनेछ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका पूर्वअध्यक्षहरू मीनरत्न बज्राचार्य र विकास रौनियारले शुभकामना मन्तव्य दिएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७