बुढीगण्डकीमा भीषण बाढी : सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति
गोरखा : बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ।
नदीमा आएको बाढीले सल्लेरी बजार बगाउनुका साथै जगत बजारमा पनि क्षति पुर्याएको स्थानीय विशाल घलेले जानकारी दिए।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ।
यद्यपि, बाढी आउनुको वास्तविक कारणबारे पुष्टि हुन बाँकी छ।
आज बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिए।
बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको भन्दै उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न स्थानीयवासीलाई आग्रह गरेकी छन्।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका बस्तीमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको छ।
बाढीबाट भएको क्षति तथा सम्भावित जोखिमबारे थप विवरण आउन बाँकी छ।
.gif)

.png)


