‘चीनले नेपाललाई पूर्वसूचना दिएन’ भन्ने प्रचारको चिनियाँ दूतावासद्वारा खण्डन
‘चीनको नियत र सहयोगमा प्रश्न उठाउनु असंगत’
काठमाडौं : चीनको तिब्बतस्थित चिलोङ नाका हुँदै रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबारे चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने प्रचारको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ।
नेपाली सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘चीनले सम्भावित विपद्को जोखिमबारे नेपाललाई समयमै जानकारी दिएन’ भन्दै उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै दूतावासले त्यस्तो आरोपमा सत्यता र वैज्ञानिक आधार नरहेको स्पष्ट पारेको हो।
दूतावासका अनुसार उपलब्ध प्रविधिको सीमाभित्र रहेर चिनियाँ विज्ञ टोलीले हिमाली क्षेत्रमा निरन्तर निगरानी, जोखिम मूल्यांकन तथा वैज्ञानिक विश्लेषण गर्दै आएको छ। हिमालय क्षेत्रमा विपद्का जोखिमयुक्त स्थान अत्यन्तै छरिएका, दुर्गम र जटिल रहेकाले त्यसको निरन्तर निगरानी तथा सटीक पूर्वानुमान चुनौतीपूर्ण रहेको दूतावासले जनाएको छ।
४–५ हजार मिटर उचाइमा निगरानी चुनौतीपूर्ण
चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनले हिमालय क्षेत्रमा विपद्का जोखिम बिन्दु अत्यन्तै जटिल र छरिएका रहेको देखाएको दूतावासको भनाइ छ। चार हजारदेखि पाँच हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा रहेका ठूलो संख्याका हिमताल तथा बरफ–चट्टानका संरचना अत्यन्तै दुर्गम र चिसो क्षेत्रमा रहेका कारण नियमित स्थलगत सर्वेक्षणमार्फत तल्लो तटीय क्षेत्रमा जस्तो व्यापक निगरानी गर्न सम्भव नहुने दूतावासले स्पष्ट पारेको छ।
त्यसमाथि ठाडो भिरालो भूभागका भूउपग्रह तस्बिरमा हुनसक्ने त्रुटि तथा विशाल र जटिल हिमाली भूगोलमा उच्च शुद्धताका साथ जोखिम निगरानी गर्नु अन्तर्राष्ट्रियस्तरमै चुनौतीपूर्ण रहेको दूतावासको भनाइ छ।
‘२०७२ को भूकम्पले हिमाली क्षेत्रमा जोखिम बढायो’
२०७२ सालको भूकम्पले नेपालको हिमाली क्षेत्रमा रहेका चट्टानी संरचनामा समेत प्रभाव पारेको दूतावासले जनाएको छ। विशेषगरी हिमालयको दक्षिणी ढलानका चट्टानी संरचना भूकम्पबाट प्रभावित भएकाले उच्च हिमाली क्षेत्रमा रहेका चट्टानको स्थिरता र जोखिम थप अनिश्चित बनेको उसको भनाइ छ।
यसकारण हिमाली क्षेत्रमा कुन ठाउँमा, कहिले र कस्तो प्रकृतिको विपद् आउन सक्छ भन्ने पूर्वानुमान आफैँमा जटिल रहेको वैज्ञानिकहरूको निष्कर्ष रहेको दूतावासले जनाएको छ।
तर, यस्ता प्राविधिक चुनौतीका बाबजुद चिनियाँ विज्ञ टोलीले उपलब्ध प्रविधिको सीमाभित्र रहेर जोखिमको निगरानी, मूल्यांकन र विश्लेषण गर्दै आएको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै आदानप्रदान गरेको दूतावासले स्पष्ट पारेको छ।
सीमापार विपद् सूचनाका लागि संयन्त्र बनाउने तयारी
चीनले नेपालसँग सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर सम्पर्क र समन्वय गर्दै आएको दूतावासले जनाएको छ। गत मेमा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका बेला नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको दूतावासले जनाएको छ।
त्यस्तै, यही अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय विपद् तथा वातावरणसम्बन्धी अनुसन्धान संस्थानको विज्ञ टोलीले नेपाल भ्रमण गरी हिमतालको निगरानी तथा त्यसबाट उत्पन्न हुनसक्ने जोखिम व्यवस्थापनसम्बन्धी चीनको अनुभव नेपाली पक्षसँग साझा गरेको दूतावासले जनाएको छ।
बाढीलगत्तै नेपाल–चीनबीच आकस्मिक बैठक
दूतावासले बाढी आएको बुधबार नै नेपाल र चीनबीच आकस्मिक समन्वय भएको पनि जनाएको छ। चीनको मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरी विपद्को अवस्थाबारे मूल्यांकन गर्नुका साथै दुवै पक्षले उपलब्ध तथ्यांक तत्काल आदानप्रदान गरेको दूतावासको भनाइ छ।
चीनले अहिले पनि नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना निरन्तर साझा गरिरहेको जनाएको छ। यसमा पहिरोका कारण बनेको ‘बाँध ताल’को निगरानीसम्बन्धी तथ्यांक समेत रहेको बताइएको छ।
त्यस्तै, चीनको मौसम विज्ञान प्रशासनले ‘माचु’ नामक चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित मौसम पूर्वचेतावनी प्रणालीमार्फत नेपाललाई प्रारम्भिक सेवा उपलब्ध गराएको दूतावासले जनाएको छ।
‘चीनको नियत र सहयोगमा प्रश्न उठाउनु असंगत’
दूतावासले पछिल्ला गतिविधिले विपद् व्यवस्थापनमा नेपालसँग सहकार्य गर्न चीनले उच्च महत्व दिएको देखाउने जनाएको छ। हिमाली क्षेत्रमा विपद्को जोखिम पहिचान तथा पूर्वानुमानमा रहेका प्राविधिक चुनौतीलाई बेवास्ता गर्दै ‘चीनले पूर्वसूचना दिएन’ भन्ने आरोप लगाउनु वास्तविकताविपरीत रहेको दूतावासको ठहर छ।
सीमापार विपद्को प्रभाव दुवै देशमा पर्नसक्ने भएकाले नेपाल र चीनबीच सूचना आदानप्रदान, वैज्ञानिक अनुसन्धान तथा पूर्वचेतावनी प्रणालीमा सहकार्य अझ सुदृढ गर्नुपर्नेमा दूतावासले जोड दिएको छ। नेपाल र चीनबीच यस क्षेत्रमा हुने सूचना आदानप्रदान तथा सहकार्य आगामी दिनमा अझ गहिरो बनाउँदै लैजाने प्रतिबद्धता समेत दूतावासले जनाएको छ।
.gif)

.png)

