सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका २२ ढोका खोलिए
काठमाडौं : सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार पानीको बहाव बढेर आइतबार साँझ प्रतिसेकेन्ड १ लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि ब्यारेजका २२ ढोका खोलिएको हो।
यसअघि कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए। जलसतह निरन्तर बढेपछि थप एक ढोका खोलिएको प्रहरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।
हालसम्म सप्तकोशी आसपासका क्षेत्रमा प्रत्यक्ष डुबानको जोखिम नरहेको प्रहरीले जनाएको छ। यद्यपि दिउँसोदेखि नै नदीको जलसतह बढिरहेको भन्दै सम्बन्धित निकाय तथा नदी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ।
त्यस्तै, नदीमा पानीको बहाव बढिरहेकाले सप्तकोशीमा माछा मार्न तथा दाउरा संकलन गर्न नजान समेत प्रहरीले अनुरोध गरेको छ।
.gif)

.png)

