सीमामा अर्को खतरा : छोचेन–पुरेपु दोभानमा २० लाख घनमिटरको ताल

तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने


२०८३ भदौ ११ बिहीबार १५:३८ बजे
Photo: the Xinhua News Agency

बेइजिङ : भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि नेपाल–चीन सीमाक्षेत्रमा अर्को सम्भावित विपद्को जोखिम देखिएको छ। नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थलनजिकै ठूलो ‘ताल’ बनेको र त्यसमा पानीको मात्रा तीव्र रूपमा बढिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। पानी तालको क्षमताभन्दा बाहिर निस्केर बग्न थालेको प्रारम्भिक आकलनसमेत गरिएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने अनुमान गरिएको छ। यसले ताल फुट्ने जोखिम बढाएको भन्दै चिनियाँ अधिकारीहरूले अवस्थालाई उच्च जोखिमका रूपमा निगरानी गरिरहेका छन्। ताल फुटेमा त्यसबाट निस्कने पानीले तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी निम्त्याउन सक्ने भएकाले चिनियाँ पक्षले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ।

सम्भावित ताल फुट्ने अवस्थाको पूर्वानुमान गर्न चिनियाँ जलस्रोत मन्त्रालयले बाढीको ‘सिमुलेसन’ तथा विश्लेषण गरिरहेको जनाएको छ। तालको पानीको मात्रा, पानीको बहाव तथा सम्भावित फुटाइपछि उत्पन्न हुन सक्ने बाढीको प्रभावबारे निरन्तर अध्ययन भइरहेको छ। सम्भावित आपत्कालीन अवस्थाका लागि उद्धार तथा राहत संयन्त्रलाई तयारी अवस्थामा राख्ने कामसमेत भइरहेको चिनियाँ पक्षले जनाएको छ।

नेपालतर्फबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत पर्ने जिरोङ (केरुङ) नाकामा समेत ठूलो असर पारेपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहत अभियानलाई तीव्र बनाएका छन्। भौगोलिक कठिनाइ, निरन्तर वर्षा र थप पहिरो तथा बाढी आउन सक्ने जोखिमबीच चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली, सञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरू परिचालन भएका छन्। उद्धारका लागि विमान, विशेष उपकरण तथा राहत सामग्रीसमेत प्रयोग भइरहेको चिनियाँ पक्षले जनाएको छ।

नेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याइरहेका बेला सीमापारि नयाँ ताल बनेसँगै विपद्को जोखिम थप जटिल बनेको छ। यसै कारण नेपाल–चीन सीमाक्षेत्रमा बनेको उक्त तालको अवस्था र त्यसबाट हुन सक्ने सम्भावित बहावलाई दुवै देशले नजिकबाट निगरानी गर्नुपर्ने अवस्था देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७