मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा मुख्यमन्त्रीले रोके शपथ
सुर्खेत : मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि कर्णाली प्रदेशमा सोमबार बिहानका लागि तय गरिएको मन्त्रीको शपथ कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयसँग समन्वय गरी सोमबार बिहान ११ बजेका लागि शपथको समय तय गरेका थिए। तर मन्त्रीको नाममा सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले मन्त्रीको सिफारिस पठाउन सकेनन्।
स्रोतका अनुसार मुख्यमन्त्री शाही आफैँ प्रदेश प्रमुख यज्ञराज जोशीलाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। उनले तत्कालका लागि शपथ कार्यक्रम स्थगित गरिदिन आग्रह गरेको बताइएको छ। मन्त्री छनोटमा नेकपाभित्रै सहमति जुट्न नसकेको स्रोतको भनाइ छ। यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका रूपमा चर्चामा थियो। तर साबिक समाजवादी धारले ती नाममा सहमति नजनाएको बताइएको छ।
साबिकको समाजवादी धारले कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान राखेको छ। उक्त धारबाट हाल एक जना मात्रै समानुपातिक सांसद रहेकाले उनलाई मन्त्री बनाउनुपर्ने दबाब रहेको स्रोतको दाबी छ। त्यसैगरी अन्य प्रदेशसभा सदस्यहरूले समेत मन्त्री बन्न दाबी गरेपछि मुख्यमन्त्री शाहीलाई भागबन्डा मिलाउन थप चुनौती भएको छ।
सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार नेकपाको भागमा तीन मन्त्रालय परेको छ। एमालेले भने आफ्नो भागमा परेका तीनवटै मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ। मन्त्री छनोटमा देखिएको आन्तरिक विवादका कारण सोमबारका लागि तय गरिएको शपथ रोकिएसँगै कर्णाली सरकारको मन्त्रिपरिषद् विस्तार थप लम्बिने भएको छ।
.gif)

.png)

