गोर्खा सैनिकको मुद्दामा बेलायती रक्षामन्त्रीसँग परराष्ट्रमन्त्री खनालको ‘भर्चुअल’ बैठक

न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट गोर्खाहरुको मुद्दाहरूलाई सम्बोधन गर्न बेलायत सरकारसँग परराष्ट्रमन्त्री खनालको आग्रह ।


२०८३ जेठ २५ सोमबार २२:४८ बजे

काठमाडौँ, २५ जेठ :  परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिलीबिच गोर्खा सैनिकको बिषयमा भर्चुअल बैठक भएको छ ।  बैठकमा रक्षामन्त्रीको साथमा भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्स पनि थिए । 

बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिए । साथै उहाँले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गरेका थिए । 

बैठकमा रक्षामन्त्री हिलीको तर्फबाट स्यान्डर–जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका थिए । 

बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष, साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ । पूर्व गोर्खासैनिक तथा आन्दोलनका अगुवाहरु जुद्धबहादुर गुरुङ, ज्ञानराज राई, शेर घिसिङ लगायत सहभागी थिए ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो। बेलायती पक्षबाट माननीय एलेक्स बेकर सांसद एवं नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष र बेलायती रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। यसैगरी, उक्त भर्चुअल बैठकमा बेलायती गोर्खा सङ्गठनका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।’ 

भर्चुअल बैठकमा बेलायती गोर्खा सङ्गठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । यसअघि आजै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तरक्रिया गरेका थिए । उक्त बैठकको समन्वय तथा सहजीकरण लण्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीले गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७