एमालेलाई सरकार बनाउन सघाउने राप्रपा नेता उद्धव थापाको पद खोसिँदै

राप्रपा बागमतीमा उद्धव थापाविरुद्ध अविश्वास प्रस्ताव


२०८३ भदौ ३ बुधबार १९:३१ बजे

हेटौँडा :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउने तयारी गरिएको छ। पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा बहुमत प्रदेश सांसदको हस्ताक्षरसहित थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको राप्रपा बागमती प्रदेशका एक सांसदले जानकारी दिए। उनका अनुसार भदौ १ गते नै अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

‘सोमबार नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। दलको नेता फेर्न बहुमत सदस्यले हस्ताक्षर गरिसक्नुभएको छ,’ ती सांसदले भने। थापाले पार्टीको निर्णय र निर्देशनविपरीत गतिविधि गर्दै आएको आरोप लगाउँदै उनलाई संसदीय दलको नेताबाट हटाउने प्रक्रिया अघि बढाइएको ती सांसदको भनाइ छ।

‘उहाँले पार्टीको निर्देशनविपरीत निर्णयहरू गर्दै हिँड्नुभएको भनेर पार्टी केन्द्रले पनि कारबाही अघि बढाइसकेको छ। अब दलको नेता पनि परिवर्तन हुन्छ,’ उनले भने। थापाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा आठ सांसदले हस्ताक्षर गरेको राप्रपाका अर्का सांसदले बताए। उनका अनुसार सरकारमा सहभागी भएर मन्त्री बन्ने तयारीमा रहेका सांसदबाहेक अधिकांशले प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन्।

राप्रपा केन्द्रीय नेतृत्वले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको थियो। तर, थापाले भने एमाले नेतृत्वको सरकारलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए।

बुधबार एमाले नेता किरण थापालाई मुख्यमन्त्रीमा दाबी पेस गर्न राप्रपाका १२ जना सांसदकै समर्थन रहेको भन्दै उद्धव थापाले समर्थन जनाएका थिए। उनको उक्त गतिविधिलाई पार्टीले अनुशासनविपरीत मानेको छ।

यसै विषयमा राप्रपा केन्द्रीय कमिटीले थापासँग १२ घण्टे लिखित स्पष्टीकरणसमेत माग गरेको छ। पार्टीभित्रको विवादसँगै अब बागमती प्रदेश संसदीय दलको नेता परिवर्तनको प्रक्रिया अघि बढेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७