बागमतीमा आज बानियाँको परीक्षा
विश्वासको मत लिँदै बानियाँ, निर्णायक बने राप्रपा र नेमकिपा
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारको भविष्य आज प्रदेशसभामा तय हुँदैछ। मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।नेकपा (एमाले) ले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएर समर्थनसमेत फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो।
संवैधानिक व्यवस्थाअनुसार समर्थन गुमाएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले बानियाँले आज सदनमा बहुमत परीक्षण गर्न लागेका हुन्। विश्वासको मत पाए बानियाँले सरकारलाई निरन्तरता दिन पाउनेछन्। तर आवश्यक मत जुटाउन नसके मुख्यमन्त्री पदबाट हट्नुपर्नेछ। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन ५३ मत आवश्यक पर्छ।
कांग्रेसका ३६ सांसद छन्। सरकारमा रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई समेत जोड्दा बानियाँको पक्षमा ३८ मत मात्र पुग्छ। अर्थात् बहुमतका लागि कांग्रेसले थप १५ सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ।
यही अंकगणितका कारण कांग्रेसले एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहेकका दललाई विश्वासमा लिने प्रयास गरिरहेको छ। कांग्रेसको मुख्य नजर १२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)माथि छ।
राप्रपा र नेमकिपाले समर्थन गरे कांग्रेसले आवश्यक ५३ मत पुर्याउन सक्छ। तर दुवै दलले अहिलेसम्म बानियाँलाई विश्वासको मत दिने निर्णय गरिसकेका छैनन्।
राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ। तर विश्वासको मतमा भने उसले आफ्नो धारणा सार्वजनिक गरेको छैन। कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने वा एमाले–नेकपा गठबन्धनलाई सहयोग गर्ने भन्ने विषयमा राप्रपाले निर्णय लिन बाँकी छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशको आवश्यकता र परिस्थितिका आधारमा निर्णय गर्ने बताउँदै आएका छन्। तर बागमतीका प्रदेश सांसदलाई पार्टीबाट औपचारिक निर्देशन भने प्राप्त भएको छैन।
राप्रपाका एक प्रदेश सांसदका अनुसार पार्टीभित्र विश्वासको मतबारे अहिलेसम्म छलफल भएको छैन। उनका अनुसार अध्यक्ष लिङ्देनले तत्काल सरकार गठनको राजनीतिक खेलमा नलागी पार्टीको महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन्।
नेमकिपाले पनि बागमतीमा तत्काल सत्तारोहण गर्ने संकेत गरेको छैन। प्रदेश स्थापना भएदेखि नै प्रतिपक्षमा रहँदै आएको उक्त दलले यसपटक पनि मन्त्री बन्ने प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको जनाएको छ।
तर नयाँ सरकार गठनका क्रममा आफ्नो भूमिका भने खुलै राखेको छ। नेमकिपाका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले विगतका कमजोरी सच्याउँदै जनपक्षीय र जनचाहनाअनुसारको सरकार बन्ने अवस्था आए सहयोगबारे सोच्न सकिने बताएका छन्।
यता, मुख्यमन्त्री बानियाँ आफैँ पनि आजको मतदान आफ्नो पक्षमा हुनेमा ढुक्क छैनन्। राप्रपा र नेमकिपाको निर्णय नआइसकेकाले सरकारको पक्षमा आवश्यक संख्या पुग्ने वा नपुग्ने स्पष्ट भइसकेको छैन।
त्यसमाथि एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणअनुसार सरकार बनाउने सहमति भइसकेकाले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन थप चुनौती देखिएको छ। मुख्यमन्त्री बानियाँले भने विश्वासको मतका लागि सबै दलसँग आग्रह गरिसकेको बताएका छन्। तर आवश्यक ५३ मत पुग्ने ठोस आधार भने अहिलेसम्म नबनेको उनको स्वीकारोक्ति छ।
उनका अनुसार विश्वासको मत पाउने अवस्था नदेखिए सदनमा सम्बोधन गरेर राजीनामा दिनेछन्। त्यसपछि नयाँ सरकार गठनका लागि संवैधानिक बाटो खुल्नेछ। बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनी प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्।
.gif)

.png)

