विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य


२०८३ भदौ १ सोमबार ०८:५० बजे

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभामा विश्वासको मत परीक्षण गर्दैछन्। नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस एमालेसँगको सत्ता सहकार्यबाट बाहिरिएपछि केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातवटै प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो। त्यसैअनुसार लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरू पनि बाहिरिएका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८३ सदस्य कायम छन्। गत फागुनमा भएको निर्वाचनमा उम्मेदवार बन्न चार प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिएपछि सभाको कायम सदस्य संख्या घटेको हो। यस आधारमा सरकार गठनका लागि आवश्यक बहुमत संख्या ४२ हो।

नयाँ समीकरणमा एमालेसँग २९ र नेकपासँग सभामुखसहित १३ सांसद छन्। यी दुई दलका सांसद जोड्दा मात्रै ४२ पुग्छन्।

बहुमत सुनिश्चित गर्न एमाले र नेकपाले एक सांसद रहेको राष्ट्रिय जनमोर्चा (नेपाल कम्युनिस्ट पार्टी मसाल)सँग पनि सहकार्य गरेका छन्। त्यसबाहेक सरकारमा सहभागी लोसपा र जसपा नेपालका एक–एक सांसदको समर्थनसमेत प्राप्त भए मुख्यमन्त्री आचार्यको पक्षमा थप सहज बहुमत बन्ने अवस्था छ।

एमाले र नेकपाबीच भएको सत्ता साझेदारीसम्बन्धी सहमतिले लुम्बिनीमा एमालेको नेतृत्वलाई निरन्तरता दिने टुंगो लगाइसकेको छ। त्यसअनुसार आचार्य नै मुख्यमन्त्री रहनेछन्। यद्यपि नयाँ सरकारको संरचना र मन्त्रालयको बाँडफाँट भने विश्वासको मतपछि मात्र टुंगो लगाउने तयारी छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा मन्त्रालयको संख्या आठ कायम रहेकाले सत्ता साझेदारबीच जिम्मेवारी बाँडफाँट सहज नहुने देखिएको छ। विशेषगरी नेकपालाई कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा अझै सहमति जुट्न बाँकी रहेको नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूले बताएका छन्।

अहिले आचार्य नेतृत्वको सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री छन्। त्यस्तै जसपा नेपाल र लोसपाबाट एक–एक जना मन्त्री सरकारमा सहभागी छन्। विश्वासको मतपछि भने नयाँ सत्ता समीकरणअनुसार सरकार विस्तार र मन्त्रालयको जिम्मेवारी बाँडफाँट अघि बढाउने तयारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७