पोखरेल मन्त्री बनेपछि पहिलोपटक राखेप बोर्ड बैठक बस्दै
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित मन्त्रालयमा बस्दैछ।
पोखरेल मन्त्री बनेपछि पहिलोपटक बस्न लागेको बैठकमा २०औँ एसियाली खेलकुद (एसियाड) र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रमुख एजेण्डाका रूपमा रहेका छन्।
जापानको आइची–नागोयामा हुने २०औँ एसियाडमा सहभागी हुने खेल, खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा पदाधिकारीको अनुमोदन, आवश्यक बजेट र मापदण्डबारे बैठकमा छलफल हुनेछ। एसियाडमा नेपालबाट २२ खेलका १३७ खेलाडी सहभागी हुने तय भएको छ।
त्यस्तै, दशौँ राष्ट्रिय खेलकुदमा समावेश हुने खेल, आयोजना समिति, प्रतियोगिता सञ्चालन निर्देशिका, बजेट तथा मापदण्डसम्बन्धी प्रस्तावमा पनि निर्णय हुने बताइएको छ।
बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को राखेपको विनियोजित बजेट तथा आन्तरिक आय–व्ययको अनुमानित विवरणसमेत प्रस्तुत हुनेछ।
यसैगरी, आवश्यक प्राविधिक कर्मचारी करारमा नियुक्त गर्ने, कानुनी सल्लाहकार नियुक्त गर्ने, ‘खेलकुद पासपोर्ट’ कार्यक्रम सञ्चालन गर्ने तथा खेल संघहरूलाई अनुदान उपलब्ध गराउने विषय पनि एजेण्डामा छन्।
विविधतर्फ खेलाडी कल्याणकारी कोष प्रयोगसम्बन्धी मापदण्ड, खरिद शाखा स्थापना अनुमोदन, अखिल नेपाल फुटबल संघ (एन्फा) सम्बन्धी विषय तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ सम्बन्धी प्रस्तावमा पनि छलफल हुने जनाइएको छ।
बैठकले राखेप कार्यकारी समितिका विभिन्न मितिमा भएका निर्णय अनुमोदन गर्ने विषयमा समेत निर्णय गर्नेछ।
.gif)

.png)

