दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री सुधन गुरुङको निर्णय
‘नागरिकमाथिको चरित्र हत्याको विषय मन्त्रालयले गम्भीर भएर हेर्छ’
काठमाडौँ : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेका छन्। मन्त्रालयमा पदभार सम्हाल्दै उनले बहुचर्चित वि.सं. २०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्।
पदभार ग्रहणकै क्रममा मन्त्री गुरुङले अन्य दुई महत्त्वपूर्ण विषयमा पनि सक्रियता देखाएका छन्। उनले जेनजी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रियाबारे अध्ययन थाल्ने निर्णय गरेका छन् भने केन्द्रीय अनुसन्धान ब्युरोलाई थप बलियो बनाउँदै हाल छानबिनको क्रममा रहेका पुराना अनुसन्धान प्रक्रियाहरूलाई यथाशीघ्र टुंग्याउन निर्देशन दिएका छन्।
आफूमाथि तथ्यहीन आरोप लगाइएको उल्लेख गर्दै मन्त्री गुरुङले सञ्चारमाध्यमहरूलाई जिम्मेवार बन्न आग्रह गरे। उनले 'मिडिया ट्रायल' को प्रभावले कुनै पनि व्यक्तिले ज्यान गुमाउनुपर्ने वा आत्महत्या गर्नुपर्ने जस्तो गम्भीर परिस्थिति आउन नहुनेमा जोड दिए। साथै, आफूमाथि जस्तोसुकै आलोचना वा आरोप लागे पनि सहने क्षमता राख्ने तर नेपाली चेलीहरूमाथि हुने दुर्व्यवहार र अन्याय भने आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।
गुरुङले अब चरित्र हत्याको विषयलाई गम्भीर ढंगले (सिरियस्ली) हेर्ने बताएका छन् । ‘ममाथि जेनजी आन्दोलनदेखि नै जति पनि आरोप लगाइयो म त थेग्न सकौंला । तर विशेषगरी कुनै नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने प्रयास गरेको खण्डमा गृह मन्त्रालयमा एक दम संवेदशनील भएर सिरियस्ली हेर्नेछ,’ उनले भने ।
उनले चरित्र हत्याका कारण कोही नेपाली छोरीको ज्यान जान नहुनेतर्फ संकेत गर्दै भने, ‘जस्तोसुकै आरोप लगाए पनि म थेग्न सक्छु । तर अरू नेपाली चेली, नेपालकी छोरीलाई चरित्र गरिन्छ र आत्महत्या गर्न बाध्य बनाइन्छ भने त्यसमा गृह मन्त्रालयले सिरियस्ली हेर्छ ।’
.gif)

.png)

