सद्भाव कायम राख्न मधेशकेन्द्रित दलको अपिल

देवानगञ्ज घटनामा मधेशकेन्द्रित दलको माग : ‘निष्पक्ष छानबिन गर, न्याय सुनिश्चित गर’


२०८३ श्रावण १४ बिहीबार १९:५४ बजे

काठमाडौं : मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । मधेशकेन्द्रित नेताहरूले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

संयुक्त वक्तव्यमा जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधान सभा सदस्य रामकुमार शर्माले हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्नुपर्ने उल्लेख गरिएको छ । घटनापछि भएको प्रहरी हस्तक्षेप र बल प्रयोगका विषयमा गम्भीर प्रश्न उठेको भन्दै नेताहरूले सत्यतथ्य पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरेका छन् ।

संयुक्त अपिलमा प्रधानमन्त्री पाँच दिनसम्म मौन बसेको र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएको दाबी गर्दै प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गरी नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति आश्वस्त पार्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, घटनामा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति, परिवारका सदस्यको दीर्घकालीन जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था तथा आवश्यक सामाजिक सुरक्षा उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ ।

नेताहरूले घटनामा कुनै बाह्य तत्व, रोहिङ्ग्या वा अन्य संगठित समूहको संलग्नता भए–नभएको विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

वक्तव्यमा दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीलाई छानबिन अवधिभर निलम्बन गरी सुरक्षा व्यवस्थाको कमजोरी र बल प्रयोगको औचित्यमाथि अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी, घाइतेहरूको निःशुल्क उपचार, आवश्यक राहतको व्यवस्था तथा सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवासँग समन्वय गर्न सरकारलाई आग्रह गरिएको छ ।

मधेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा दोहोरिँदै आएका तनावपूर्ण घटनाले गम्भीर अवस्था सिर्जना गरेको भन्दै नेताहरूले निष्पक्ष अनुसन्धानमार्फत सत्य सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले सम्पूर्ण नागरिकलाई संयम, धैर्यता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै अफवाह, घृणा र उत्तेजनाबाट टाढा रही कानुन र सत्यको पक्षमा उभिन आग्रह गरेका छन् ।

मधेशकेन्द्रित दलहरूले निष्पक्ष छानबिन र न्यायबिना विश्वासको वातावरण पुनःस्थापित हुन नसक्ने उल्लेख गर्दै सरकारले पक्षपातरहित ढंगले सत्य, न्याय र उत्तरदायित्वको बाटो अपनाउनुपर्ने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७