चीनबाट काँधमा बोकेर प्रहार गर्न मिल्ने क्षेप्यास्त्र खरिद गर्दै इरान
काठमाडौं : अमेरिका र इजरायलसँगको युद्धपछि कमजोर बनेको आफ्नो हवाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन इरानले चीनबाट ठूलो परिमाणमा हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिद गर्ने तयारी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार इरानले चीनसँग ३०० देखि ४०० वटा काँधमा बोकेर प्रहार गर्न मिल्ने हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिद गर्ने सम्झौता गरेको छ।
उक्त सम्झौतामा हङकङस्थित एक चिनियाँ लगानी कम्पनीले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ताबीच मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ। सम्झौताअन्तर्गत क्यूडब्ल्यु–१२ र एफएन–१६ प्रणालीका क्षेप्यास्त्र खरिद गरिनेछन्। तीमध्ये पहिलो खेप केही साताभित्र इरान पुग्ने अपेक्षा गरिएको छ।
रोयटर्सका अनुसार सम्झौताको मूल्य करिब ६ देखि ७ करोड अमेरिकी डलर बराबर रहेको छ। युद्ध सुरु भएयता छोटो दूरीको हवाई सुरक्षा प्रणाली सुदृढ बनाउन इरानले गरेको यो सबैभन्दा ठूलो प्रयास मानिएको छ। यद्यपि इरानको विदेश मन्त्रालयले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। चिनियाँ विदेश मन्त्रालयले भने इरानलाई हतियार बिक्री गरिएको भन्ने दाबीलाई निराधार बताएको छ।
हालैका महिनाहरूमा अमेरिका र इजरायलले इरानका क्षेप्यास्त्र, मानवरहित विमान तथा हवाई सुरक्षा प्रणालीसँग सम्बन्धित विभिन्न सैन्य संरचनामाथि आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले पनि लामो दूरीका क्षेप्यास्त्र र मानवरहित विमान प्रयोग गरी आक्रमण गरेको थियो।
सैन्य विश्लेषकहरूका अनुसार यस युद्धले अत्याधुनिक लडाकु विमानविरुद्ध इरानको स्थायी हवाई प्रतिरक्षा प्रणाली पर्याप्त प्रभावकारी नरहेको देखाएको छ। यही कारण इरानले सजिलै एक स्थानबाट अर्को स्थानमा सार्न सकिने छोटो दूरीका हवाई प्रतिरक्षा प्रणालीमा जोड दिएको हो।
रोयटर्सका अनुसार सम्झौता कार्यान्वयन भए इरानको कम उचाइमा उड्ने लडाकु विमान, हेलिकप्टर र मानवरहित विमानविरुद्धको प्रतिरक्षा क्षमता उल्लेख्य रूपमा बढ्नेछ। साथै चीन–इरानबीचको सैन्य सहकार्य पनि थप बलियो हुने अनुमान गरिएको छ।
स्रोतहरूका अनुसार पहिलो खेप चीनको पश्चिमी सहर उरुम्चीबाट पठाइनेछ। त्यसलाई पाकिस्तान हुँदै इरान पुर्याउने योजना रहेको बताइए पनि हवाई वा स्थलमार्गमध्ये कुन माध्यम प्रयोग गरिने भन्ने विषय खुलाइएको छैन। यद्यपि पाकिस्तानको सेनाको जनसम्पर्क निकायले चीनबाट इरानतर्फ हवाई प्रतिरक्षा हतियार ढुवानीका लागि पाकिस्तानको भूभाग प्रयोग नहुने जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
रक्षा विज्ञहरूका अनुसार क्यूडब्ल्यु–१२ र एफएन–१६ काँधमा बोकेर प्रहार गर्न मिल्ने, तापीय संकेतको आधारमा लक्ष्य पछ्याउने जमिनबाट आकाशतर्फ प्रहार गरिने क्षेप्यास्त्र हुन्। यस्ता प्रणाली कम उचाइमा उड्ने लडाकु विमान, हेलिकप्टर र मानवरहित विमान खसाल्न प्रभावकारी मानिन्छन्। आवश्यकता अनुसार सैन्य अड्डा, ऊर्जा पूर्वाधार तथा अन्य संवेदनशील क्षेत्रमा छिट्टै तैनाथ गर्न सकिने भएकाले यस्ता प्रणालीलाई अत्यन्त उपयोगी मानिन्छ।
रोयटर्सका अनुसार चीनले इरानलाई क्यूडब्ल्यु–१८ र क्यूडब्ल्यु–१९ प्रणालीका क्षेप्यास्त्र बिक्री गर्ने विषयमा पनि विभिन्न चरणमा छलफल गरिरहेको छ। साथै, इरानले यसअघि चीनसँग क्रुज क्षेप्यास्त्र खरिदका लागि छुट्टै सम्झौता गरेको विषय सार्वजनिक भए पनि त्यसको कार्यान्वयनबारे हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
.gif)

.png)

