सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

निजी अस्पताललाई १० प्रतिशत सहुलियत कार्यान्वयन गर्न निर्देशन


२०८३ असार २९ सोमबार १५:२४ बजे

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न 'बर्न' (जलन) उपचार केन्द्र स्थापना गर्ने योजनालाई तत्काल अघि बढाउन निर्देशन दिएका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीहरूले समयमै र गुणस्तरीय उपचार पाउन सकून् भन्ने सुनिश्चितताका लागि सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न जोड दिएका छन्। साथै, उनले प्रमुख सरकारी अस्पतालहरूमा बर्न वार्डको क्षमता सुदृढीकरण गर्न आवश्यक योजना तत्काल तयार गरी काम थाल्न निर्देशन दिएका छन्।

स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै प्रधानमन्त्री शाहले अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, 'डिजिटल' प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन्। उनले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्यमा पहुँच बढाउन निजी अस्पतालहरूले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

त्यस्तै, प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषयलाई कानुनबमोजिम समाधान गर्न पहल गरिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले एक स्वास्थ्य संस्थाको उत्कृष्ट अभ्यासलाई अर्को संस्थाले सिक्ने र साझेदारी गर्ने वातावरण बनाउन सुझाव दिएका छन्।

छलफलमा सहभागी उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर, विशेषज्ञ सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासका बारेमा जानकारी गराएका छन्। उनीहरूले स्वास्थ्य सेवाको 'डिजिटल' रूपान्तरण तथा अस्पताल सूचना व्यवस्थापन प्रणालीको महत्वबारे पनि प्रधानमन्त्रीसमक्ष आफ्ना धारणा राखेका छन्।

उक्त छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा स्मृति काफ्ले र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्यको सहभागिता थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७