गणेशका परिवारलाई रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने महानगरको निर्णय
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका मुगु जिल्लाका गणेश नेपालीको दुःखद निधनप्रति काठमाडौं महानगरपालिकाले गहिरो शोक व्यक्त गरेको छ। हाल भक्तपुरमा बस्दै आएका नेपालीको निधनले आफूहरू स्तब्ध भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शुक्रबार राति जारी गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
महानगरपालिकाले मृतकको परिवारको अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, परिवारका सदस्यलाई रोजगारीको अवसर सिर्जना गर्ने र उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने प्रक्रिया अघि बढाउने निर्णय महानगरले गरेको छ। यी सबै निर्णयहरूलाई विधिवत् रूपमा कार्यान्वयन गर्नका लागि महानगरको कार्यपालिका बैठकबाट आवश्यक निर्णय गरिने प्रवक्ता मानन्धरले बताएका छन्।
यस घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिलाई महानगरपालिकाले पूर्ण सहयोग गर्ने भएको छ। उक्त समितिको तथ्यगत अनुसन्धान र सुझावका आधारमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन महानगरले आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने छ। नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय खोज्दै असल अभ्यासहरू कार्यान्वयन गर्न महानगर तयार रहेको जनाउँदै, विज्ञप्तिमार्फत यो संवेदनशील घडीमा धैर्य र संयमित रहन सबै नागरिक तथा सरोकारवालाहरूमा हार्दिक अपिल गरिएको छ।
.gif)

.png)

