सातै विश्वविद्यालयको उपकुलपति नियुक्त

त्रिविको उपकुलपतिमा प्रा. भोला थापा


२०८३ असार १९ शुक्रबार १८:४८ बजे

काठमाडौं :  प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन) ले मुलुकका सातवटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। विश्वविद्यालयहरूको शैक्षिक एवं प्रशासनिक नेतृत्वलाई पूर्णता दिँदै प्राज्ञिक सुशासन कायम गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले रिक्त उपकुलपति पदमा अनुभवी प्राज्ञिक व्यक्तित्वहरूलाई नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको सचिवालयले दिएको जानकारीअनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन्। प्रा. थापा यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्य गरिसकेका एक अनुभवी प्राज्ञ हुन्।

नवनियुक्त अन्य उपकुलपतिहरूमा पूर्वाञ्चल विश्वविद्यालयका लागि प्रा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालयका लागि प्रा. देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका लागि प्रा. राजन सुवाल र सुदूरपश्चिम विश्वविद्यालयका लागि प्रा. किसनदत्त भट्ट रहेका छन्। त्यसैगरी, राजर्षी जनक विश्वविद्यालयको उपकुलपतिमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएका छन्।

शिक्षा मन्त्री पोखरेलको सचिवालयका अनुसार, नवनियुक्त उपकुलपतिहरूलाई आजै नियुक्ति पत्र प्रदान गर्ने तयारी गरिएको छ। पछिल्लो समय विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर र सुशासनमा सुधार ल्याउने सरकारको नीतिअनुरूप प्राज्ञिक क्षेत्रका विज्ञहरूलाई जिम्मेवारी सुम्पिएको हो। नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको सुधार र प्राज्ञिक उन्नयनमा कस्तो भूमिका निर्वाह गर्नेछन्, सोप्रति प्राज्ञिक समुदाय र सरोकारवालाहरूले उच्च चासोका साथ हेरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७