राहदानी खरिद प्रकरण: नेपाललाई कुनै चेतावनी नदिइएको जर्मनीको स्पष्टीकरण
‘एक ‘आमन्त्रण’ मात्र हो, जसलाई आदेशात्मक शैलीको ‘समन’का रूपमा बुझ्नु कूटनीतिक अभ्यासविपरीत हुनेछ’
काठमाडौं : काठमाडौंस्थित जर्मन दूतावासले हालै सार्वजनिक भएको राहदानी खरिद प्रकरण र त्यससँग जोडिएका कूटनीतिक समाचारहरूमाथि औपचारिक स्पष्टीकरण दिएको छ।
बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा बोलाइएको घटनालाई लिएर मिडियामा आएका ‘समन’ गरिएको भन्ने समाचारहरू भ्रामक र तथ्यहीन रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार उक्त भेट केवल छलफलका लागि दिइएको एक ‘आमन्त्रण’ मात्र हो, जसलाई आदेशात्मक शैलीको ‘समन’का रूपमा बुझ्नु कूटनीतिक अभ्यासविपरीत हुनेछ।
कूटनीतिक जगतमा ‘निमन्त्रणा’ र ‘समन’ बीचको भिन्नता निकै संवेदनशील र महत्त्वपूर्ण हुने बताउँदै दूतावासले उक्त भेटमा नेपाली कूटनीतिज्ञलाई कुनै पनि प्रकारको विरोधपत्र वा आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको प्रस्ट्याएको छ। साथै, अदालतमा विचाराधीन यस विषयमा कुनै सम्भावित परिणाम वा कारबाहीको चेतावनी दिइएको भन्ने दाबीलाई पनि दूतावासले खारेज गरेको छ।
जर्मनीको संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको र सोही अनुरूप अदालतमा चलिरहेका मुद्दाहरूमा टिप्पणी नगर्ने आफ्नो स्थापित नीति रहेको जनाउँदै, जर्मनीले यस प्रकरणमा पनि कुनै औपचारिक टिप्पणी वा हस्तक्षेप नगरेको दोहोर्याएको छ।

.gif)

.png)

