महान्यायाधिवक्ता डा. कँडेलको नियुक्ति प्रकरण: सर्वोच्चद्वारा यात्राको अभिलेख झिकाउने आदेश
काठमाडौं : महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कँडेलको विदेश यात्राको प्रमाणित अभिलेख झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो।
अदालतले कँडेलको सन् २०१५ देखि २०२४ सम्मको नेपाल-बेलायत आवतजावतको प्रमाणित अभिलेख र महान्यायाधिवक्तामा नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल पेस गर्न निर्देशन दिएको छ। आदेशमा भनिएको छ, ‘महान्यायाधिवक्ता नियुक्ति गर्नेसम्बन्धी नेपाल सरकारबाट विसं २०८२(१२(२२ मा भएको निर्णयसहितको फायल पेसीको दिन देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा २०१५ देखि सन् २०२४ सम्म डा कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमअनुसार पेस गर्नू ।’
नियुक्तिलगत्तै उनको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू माधवकुमार बस्नेत र दीपकराज जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदकहरूले कँडेल लामो समय बेलायतमा बसेको र उतैको स्थायी आवासीय अनुमति (पीआर) लिएको दाबी गर्दै महान्यायाधिवक्ता हुन आवश्यक पर्ने 'न्यायाधीशसरहको योग्यता' उनीमा नरहेको जिकिर गरेका छन्।
यसअघि पनि विभिन्न सञ्चार माध्यमहरूले महान्यायाधिवक्ता कँडेलले विदेशी पीआर लिएको दाबीसहित प्रमाण सार्वजनिक गरेका थिए। सर्वोच्चको आजको आदेशसँगै उनको नियुक्ति र योग्यतासम्बन्धी विवादले नयाँ मोड लिएको छ। अदालतले यात्रा विवरण र नियुक्तिसम्बन्धी कागजात झिकाउने निर्णय गरेसँगै अबको सुनुवाइमा यी प्रमाणहरू निर्णायक हुने देखिन्छ।
.gif)

.png)

