युस्ताक्वियोको अन्तिम क्षणको गोलमा क्यानडाको ऐतिहासिक छलाङ
एजेन्सी । दक्षिण अफ्रिकाविरुद्ध इन्जुरी समयमा गरेको निर्णायक गोलपछि क्यानडाका नायक स्टेफन युस्ताक्वियो ले त्यो अविस्मरणीय क्षण सम्झिँदै अब टोलीको लक्ष्य अन्तिम १६ पार गरेर अझ अघि बढ्ने बताएका छन्।
फिफा विश्वकप २०२६ को पहिलो नकआउट खेलले धेरै नयाँ इतिहास र कथाहरू जन्माएको छ। नकआउट चरणमा केही टोलीको पहिलो सहभागिता, क्यानडाको ऐतिहासिक जित, १५ महिनाअघि चोट लागेको मैदानमै अल्फोन्सो डेभिस को पुनरागमन र इन्जुरी समयको दोस्रो मिनेटमा युस्ताक्वियोले गरेको निर्णायक गोलले लस एन्जलस स्टेडियम मा उपस्थित क्यानडाली समर्थकहरूलाई उत्सवमा डुबायो।
खेलपछि युस्ताक्वियोले भने, “यो निकै कठिन रंगशाला थियो। खेलको समय देख्न नै गाह्रो हुन्थ्यो। मैले खेलभर समय देखिनँ। पानी पिउने विश्रामका बेला मात्र कति समय बाँकी छ भनेर हेर्थें। तर गोल गरेपछि खेल सकिनै लागेको रहेछ भन्ने थाहा पाएँ।”
दक्षिण अफ्रिकाले अधिकांश समय रक्षात्मक रणनीति अपनाएको थियो। क्यानडाले लगातार आक्रमण गरे पनि गोल गर्न सकिरहेको थिएन र खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिएको थियो। तर इन्जुरी समयको दोस्रो मिनेटमा युस्ताक्वियोले गोल गर्दै खेलको निर्णय गरे। उत्कृष्ट प्रदर्शनका लागि उनी ‘खेलकै उत्कृष्ट खेलाडी’ घोषित भए।
उनले भने, “यो जितका लागि हामीले धेरै मेहनत गरेका थियौँ। हामी सबै क्यानाडावासीलाई यो जित उपहार दिन चाहन्थ्यौँ। हामीले विश्वास कहिल्यै गुमाएनौँ, निरन्तर प्रयास गरिरह्यौँ। मैले प्रहार गर्दा यस्तो लाग्यो कि मसँगै सबैले प्रहार गरिरहेका छन्। सबैले आफ्नो शक्ति त्यस बलमा मिसाएका थिए र अन्ततः बल जालीभित्र पुग्यो।”
यो युस्ताक्वियोको सन् २०२३ को अन्त्ययता क्यानडाका लागि पहिलो गोल थियो। अमेरिकी भूमिमा भने यो उनको चौथो गोल हो। यसअघि उनले कन्काकाफ गोल्ड कप मा तीन गोल गरेका थिए। सम्भवतः यो उनको करियरकै सबैभन्दा महत्त्वपूर्ण गोल बनेको छ।
तर क्यानडालाई पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दिलाएको ऐतिहासिक क्षणमा पनि युस्ताक्वियोको ध्यान आगामी चुनौतीतर्फ केन्द्रित छ। उनका अनुसार समूह चरण पार गरेसँगै टोलीको आत्मविश्वास अझ बलियो बनेको छ।
अब क्यानडाले अन्तिम १६ मा मोरक्को वा नेदरल्यान्ड्स मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। युस्ताक्वियोले भने, “राम्रो दिन पर्यो भने हामी जे पनि गर्न सक्छौँ।”
उनले टोलीको एकतामाथि जोड दिँदै भने, “हामीसँग विशेष टोली छ। हामी आफूलाई दाजुभाइजस्तै ठान्छौँ। जब हामी एकअर्काका लागि लड्छौँ, विशेष नतिजा सम्भव हुन्छ। म अत्यन्तै खुसी छु, तर हाम्रो काम अझै सकिएको छैन।”
.gif)

.png)

