ककपिटमा धुवाँको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण
भैरहवा : काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण (इमर्जेन्सी ल्यान्डिङ) गरिएको छ ।
एसएचए २२७ कलसाइन भएको उक्त जहाजको ककपिटमा धुवाँको संकेत देखिएपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार जहाज सुरक्षित रूपमा अवतरण गरिएको छ र सबै यात्रुहरू सकुशल छन् ।
‘ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गराउनुभएको हो,’ महाप्रबन्धक साहले जानकारी दिए ।अहिले यात्रुहरू विमानस्थलमै रहेका छन् । श्री एयरलाइन्सले काठमाडौँबाट अर्को जहाज पठाएर यात्रुहरूलाई गन्तव्य (धनगढी) तर्फ लैजाने व्यवस्था मिलाएको छ । जहाजमा देखिएको प्राविधिक समस्याबारे विस्तृत प्राविधिक जाँचपछि मात्र थप स्पष्ट हुने कम्पनीले जनाएको छ ।
.gif)

.png)

