अब कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?
कम्युनिष्ट पार्टीहरूमा दशकौंदेखि एउटै अनुहार नेतृत्वमा छन्, जसले नयाँ विचार र ऊर्जालाई पार्टीभित्र छिर्न दिएका छैनन्।
नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलन एउटा यस्तो शक्ति हो, जसले समाजको पिँधमा रहेका मानिसहरूलाई राजनीतिमा संगठित मात्र गरेन, बरु मुलुकमा ठूला-ठूला युगान्तकारी परिवर्तनको नेतृत्व पनि गर्यो। राणा शासनको अन्त्यदेखि राजतन्त्रको बिदाइ र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म कम्युनिष्टहरूको रगत र पसिना मिसिएको छ। तर, विडम्बनापूर्ण कुरा के छ भने, जुन शक्तिले समाज बदल्ने कसम खाएको थियो, आज त्यही शक्ति आफैँभित्रको अन्तरद्वन्द्व, वैचारिक विचलन र सत्तामोहको चक्रव्यूहमा फसेको छ।
कुनै समय दुई-तिहाइ जनमतको नजिक पुगेको कम्युनिष्ट आन्दोलन अहिले टुटफुट, निराशा र अविश्वासको भुमरीमा छ। यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको अस्तित्व रक्षा र पुनर्जीवन कसरी सम्भव छ भन्ने प्रश्न आजको राजनीतिको सबैभन्दा टड्कारो प्रश्न बनेको छ।
कम्युनिष्ट पार्टीको अस्तित्व जोगाउनका लागि सबैभन्दा पहिले यसले आफ्नो गुमेको 'वर्ग-चरित्र' फेरि प्राप्त गर्नुपर्छ। पछिल्ला वर्षहरूमा कम्युनिष्ट पार्टीहरू नाममा सर्वहारा वर्गको कुरा गर्ने तर व्यवहारमा दलाल पुँजीपति र ठेकेदारहरूको घेराबन्दीमा पर्ने गरेको देखिन्छ। पार्टीका नेताहरूको जीवनशैली र उनीहरूले प्रतिनिधित्व गर्ने गरिब जनताको जीवनशैलीबीचको दुरी आकाश-जमिनको जस्तो भएको छ।
जबसम्म कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरू विलासी जीवनशैली त्यागेर फेरि एकपटक श्रमजीवी वर्ग, सुकुम्बासी, मजदुर र किसानको सुख-दुःखमा एकाकार हुँदैनन्, तबसम्म जनताले उनीहरूलाई विश्वास गर्ने आधार रहँदैन। सत्ताको कुर्सी र ओहोदाका लागि गरिने मरिहत्तेले पार्टीलाई जनताबाट टाढा पुर्याएको छ। त्यसैले, अबको कम्युनिष्ट आन्दोलन सत्तामुखी होइन, जनमुखी हुनुपर्छ र यसको मुख्य आधार 'वर्ग संघर्ष' को आधुनिक र रचनात्मक स्वरूप हुनुपर्छ।
दोस्रो महत्त्वपूर्ण पक्ष भनेको वैचारिक स्पष्टता र समयसापेक्ष रूपान्तरण हो। विश्व र नेपाली समाजको संरचनामा ठूलो परिवर्तन आइसकेको छ। माक्र्सवाद, लेनिनवाद वा माओवादका पुराना सिद्धान्तहरूलाई शास्त्रीय रूपमा मात्र रटेर अबको शिक्षित र सचेत पुस्तालाई आकर्षित गर्न सकिँदैन। प्रविधिले ल्याएको क्रान्ति, जलवायु परिवर्तन, भूमण्डलीकरण र बदलिँदो श्रम बजारलाई सम्बोधन गर्ने गरी '२१ औं शताब्दीको समाजवाद' कस्तो हुन्छ भन्ने ठोस मार्गचित्र आजको आवश्यकता हो। केवल भाषणमा समाजवादको नारा लगाउने तर व्यवहारमा पुँजीवादी विकृतिहरूलाई प्रश्रय दिने पाखण्डपन नै कम्युनिष्ट आन्दोलनको बाधक बनेको छ। पार्टीभित्र बौद्धिक बहसको खडेरी छ र नेताहरू विचारभन्दा पनि शक्तिको पछि दौडिरहेका छन्। अब बाँच्नका लागि पार्टीले उत्पादनको मोडेल, शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्युनिष्ट दृष्टिकोण कस्तो हुन्छ भन्ने कुरालाई व्यवहारमै प्रमाणित गरेर देखाउनुपर्छ।
नेतृत्वको हस्तान्तरण र युवा पुस्ताको सहभागिता अर्को अपरिहार्य शर्त हो। नेपालका कम्युनिष्ट पार्टीहरूमा दशकौंदेखि एउटै अनुहार नेतृत्वको शिखरमा छन्, जसले नयाँ विचार र ऊर्जालाई पार्टीभित्र छिर्न दिएका छैनन्। पुरानो पुस्ताको त्याग र बलिदानको सम्मान गर्दै अब उनीहरूले अभिभावकीय भूमिकामा बसेर कार्यकारी जिम्मेवारी युवाहरूलाई सुम्पिनुपर्छ। नयाँ पुस्तासँग प्रविधि बुझ्ने क्षमता छ, संसारलाई हेर्ने नयाँ दृष्टिकोण छ र उनीहरूमा केही गर्ने उत्साह पनि छ।
जबसम्म पार्टीभित्र लोकतान्त्रिक अभ्यास हुँदैन र योग्यताका आधारमा नेतृत्व चयन हुँदैन, तबसम्म पार्टी एउटा गुटको घेराभित्र मात्र सीमित रहन्छ। युवाहरूलाई केवल सडकमा नारा लगाउन र झण्डा बोक्न मात्र प्रयोग गर्ने होइन, उनीहरूलाई नीति निर्माणको तहमा पुर्याउनु नै पार्टी बचाउने उत्तम उपाय हो।
कम्युनिष्ट पार्टीको पुनरुत्थानका लागि 'नैतिकता र आचरण' को पुनरुत्थान हुनुपर्छ। भ्रष्टाचार, गुटबन्दी र पदको लुछाचुँडीले कम्युनिष्ट कार्यकर्ताको छवि धुमिल बनाएको छ। कार्यकर्ताहरू अब पार्टीका दास होइन, समाजका सचेत नागरिक र सेवकका रूपमा उभिनुपर्छ। साना-साना समूहमा विभाजित भएर एक-अर्कालाई गाली गर्नुभन्दा न्यूनतम साझा एजेन्डामा वामपन्थी एकता वा कार्यगत एकताको बाटो रोज्नुपर्छ। तर, यस्तो एकता पदको बाँडफाँडका लागि मात्र नभई जनसरोकारका मुद्दाहरू सम्बोधन गर्नका लागि हुनुपर्छ।
यदि कम्युनिष्ट पार्टीहरूले समयमै आफूलाई समीक्षा गरेर 'आमूल रूपान्तरण' को बाटो नहिँड्ने हो भने, नेपाली राजनीतिमा उनीहरू केवल इतिहासको एउटा अध्यायमा मात्र सीमित हुनेछन्। तसर्थ, कम्युनिष्ट पार्टी बाँच्नका लागि उसले आफ्नो पुरानो घर भत्काएर नयाँ जगमा, नयाँ विचार र नयाँ शैलीको जगमा पुनर्जीवन प्राप्त गर्नुको विकल्प छैन।
.gif)

.png)

